काठमाडौंका विभिन्न स्थानमा भएका सुकुम्बासी बस्ती शुक्रबार खाली गराइएको छ।
बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका क्षेत्रमा नदी किनार तथा सडक अतिक्रमण गरी बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको थियो।
तीमध्ये तीन स्थानमा मात्रै ७४४ घर टहरा भत्काइएको छ।
बल्खुमा ४०१ घर, टहरा र छाप्रो हटाइएको छ।
बंशीघाटमा १९३ वटा घर टहरा भत्काइएको छ भने शंखमुलमा १५० वटा घर भत्काइएको छ।
शंखमुलमा डोजर चलेका सबै पक्की घर छन्।
बस्ती खाली भएपछि ३२३ परिवार सम्पर्कमा आएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।
सुकुम्बासीहरुको स्क्रिनिङको व्यवस्था त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरिएको छ।
शुक्रबार त्यहाँ ३२३ परिवारका १ हजार ४१४ जना सम्पर्कमा आएको समितिले जनाएको छ।
तीमध्ये ८० जनालाई शुक्रबार भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा पठाइएको छ।
शुक्रबार घर-टहरा भत्काइएपछि सम्पर्कमा आउने सुकुम्बासीहरूलाई राख्न पाँच वटा स्थान तय गरिएको थियो।
ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा राख्ने भनिएको थियो।