रोल्पामा भएको जिप दुर्घटनाबारे गठित छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै छ।
घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई तीन दिनको समय दिइएकोमा सो अवधि आज सकिँदैछ।
वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझाव कार्यान्वयनमा लैजाने तथा देशभर सडक सुरक्षामा नीतिगत र संरचनागत सुधार गर्ने तयारी गरिएको छ।
सडक दुर्घटनालाई गम्भीर सामाजिक समस्या रूपमा लिँदै प्राविधिक तथा मानवीय कमजोरी सुधार गर्न सरकार दृढताका साथ अघि बढ्ने जनाइएको छ।
यस दुःखद घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सरकारका प्रवक्ता हेमराज अर्यालले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।