सल्यानमा प्रहरीका लागि कक्षा कोठा भवन बनाउने क्रममा जग खन्दा ठूलो परिमाणमा गाडेको अवस्थामा विस्फोटक वस्तुहरू फेला परेका छन्।
शारदा नगरपालिका – ३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र प्रहरीका लागि कक्षा कोठा भवन बनाउनका लागि जग खन्ने क्रममा बैशाख १६ गते १० वटा सकेट बम फेला परेका थिए।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार प्रहरीका लागि स्कुल कोठा निर्माण गर्न जग खन्ने क्रममा बम फेला परेपछि थप खन्ने काम रोकिएको थियो ।
त्यसपछि सल्यानस्थित नेपाली सेनाको शिद्धबक्स गण, १९ नम्बर बाहिनी तुलसीपुर दाङ र भैरहवास्थित काली भक्तिगणबाट डिस्पोजका लागि टोली बोलाइएको थियो।
प्रहरी प्रवक्ता केसीका अनुसार भैरहवासमेत बाट डिस्पोज टोली सल्यान पुगेपछि जग खन्ने काम फेरि सावधानीपूर्वक सुरू गरिएको थियो ।
त्यसक्रममा कुल ८६ वटा विभिन्न किसिमका बमहरू फेला परेका थिए।
प्रहरी निरीक्षक केसीका अनुसार जसमा ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ बोत्तल तरल पदार्थ फेला परेको हो।
फेला परेका सबै बिस्फोटक बस्तुहरू जिल्ला प्रहरी कार्यालयदेखि केही दक्षिणको जंगलमा लगेर सबै डिस्पोज गरिएको केसीले बताए ।
जग खन्ने क्रममा त्यहाँ ७ वटा रेडियो वेभ, ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने सामग्री २ किलो र १० मिटर फाइरिङ केबल फेला परेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
ती विस्फोटक पदार्थहरू सशस्त्र द्वन्द्वताकाको हुन सक्ने प्रहरीले जनाएको छ ।