लिटिल बुद्धको नामले चर्चित रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसुरमा पनि सफाइ पाएका छन्।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो।
उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दाको फैसला वैशाख ८ गतेको इजलासले गरेको हो।
अभियोग दाबी नपुग्ने फैसला गरेपछि उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।
बमजनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
चितवनमा रहेको बमजनकव ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।
उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।
उनीविरूद्ध बाल यौन दुरूपयोगको कसुर सर्वोच्च अदालतमा विचाराधीन छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले २०८१ असार १७ गते १० वर्ष कैद र बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति फैसला सुनाएको थियो।
उक्त फैसलालाई उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले २०८१ चैत ६ गते सफाइ दिएको थियो।
त्यस फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको थियो। अहिले उक्त पुनरावेदन सर्वोच्चमा विचाराधीन छ।