नेदरल्याण्ड्सको कम्पनीले सञ्चालन गरेको एउटा क्रुज जहाजमा हान्टाभाइरसको प्रकोप फैलिएको आंशका गरिएको छ।
डच कम्पनी ओसेनवाइड एक्सपेडिसनको एमभी होन्डियस नामक क्रुज जहाजमा यात्रारत तीन जनाको मृत्यु भएको र तीन जना बिरामी परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ओसेनवाइडले विज्ञप्ति जारी गर्दै आफ्नो ध्रुवीय यात्रामा रहेको क्रुज जहाजमा यात्रारत मानिसहरूमा गम्भीर स्वास्थ्य अवस्था देखिएको र त्यसको व्यवस्थापन भइरहेको जनाएको छ।
उक्त जहाज अफ्रिकाको पश्चिममा अवस्थित टापु राष्ट्र केप भर्डे नजिक समुद्रमा रहेको बताइएको छ।
जहाज करिब तीन साताअघि अर्जेन्टिनाबाट प्रस्थान गरेको थियो। सो जहाजमा करिब १५० यात्रु सवार थिए। यात्राका क्रममा जहाजले एन्टार्कटिका लगायतका स्थानमा अवतरण गरेको थियो।
नेदरल्याण्ड्सको विदेश मन्त्रालयका एक प्रवक्ताले दुई डच नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्। तर थप विवरण खुलाइएको छैन।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सामाजिक सञ्जालमार्फत एक बिरामीलाई दक्षिण अफ्रिकामा सघन उपचार कक्षमा राखिएको जनाएको छ। समाचारअनुसार ती बिरामी बेलायती नागरिक हुन्।
डब्ल्यूएचओका अनुसार ६ जना प्रभावितमध्ये एक जनामा प्रयोगशाला परीक्षणमार्फत हान्टाभाइरस पुष्टि भएको छ र बाँकी घटनाको अनुसन्धान जारी छ।
कम्पनीका अनुसार केप भर्डेका अधिकारीहरूले उपचार आवश्यक यात्रुहरूलाई जहाजबाट झर्न अनुमति दिएका छैनन्। यसबीच डच अधिकारीहरूले दुई बिरामी र एक मृतकको शव स्वदेश फिर्ता गर्ने तयारी गरिरहेका छन्।
हान्टाभाइरस सामान्यतया मुसाजस्ता कृन्तक जनावरको दिसा वा पिसाब सुक्दा हावामा फैलिने कणबाट मानिसमा सर्ने गर्छ।
डब्ल्यूएचओका अनुसार विरलै अवस्थामा मानिस–मानिसबीच पनि सर्न सक्छ।
सुरुमा फ्लूजस्तै लक्षण देखिने यो रोगले गम्भीर अवस्थामा मुटु र फोक्सोमा समस्या ल्याउन सक्छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार करिब ४० प्रतिशत संक्रमितको ज्यान जाने जोखिम हुन्छ भनेर रोयटर्सले लेखेको छ।
यस रोगको लागि विशेष औषधि उपलब्ध छैन। बिरामीलाई भेन्टिलेटरमा राख्ने लगायतका उपाय अपनाइन्छ।
डब्ल्यूएचओले सदस्य राष्ट्रहरू र जहाज सञ्चालकसँग समन्वय गरी बिरामी यात्रुहरूको उद्धार, सार्वजनिक स्वास्थ्य जोखिम मूल्यांकन तथा जहाजमा रहेका अन्य यात्रुहरूको सुरक्षाका लागि काम भइरहेको जनाएको छ।