सल्यानमा शनिबार बिहान भएको ट्रयाक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका – १३ का २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए।
भानुभक्त माध्यामिक विद्यालय दमाचौरका लागि निर्माण सामाग्री बोकेको जाँदै गरेको भे. १ त. २०९० नम्बरको ट्रयाक्टर बिहान ७ बजेतिर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।
श्रीनगरबाट दमाचौर तर्फ जादै गरेको उक्त ट्रयाक्टर बागचौर नगरपालिका – १० भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायव निरीक्षक रत्नलाल खड्का नेतृत्वको टोली पुगेर मृतकको शब पोष्ट मार्टमका लागि अस्पताल पठाएको थियो।
दुर्घटनाका कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
सल्यानमा शुक्रबार दिउँसो भएको अर्कौ ट्रयाक्टर दुर्घटनामा परी जिल्लाको दार्मा गाउँपालिका–२ का १७ वर्षीय चालक प्रदीप विकको पनि घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी दार्मा –२ का २२ वर्षीय विशाल विक र १७ वर्षीय टेकबहादुर विक घाइते भएका थिए ।
दिउँसो साढे १ बजेतिर ट्रयाक्टर फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्रयाक्टर जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोला नजिकै सडकबाट करिब १५ मिटर तल खसेको थियो।