काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ।
मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिए।
आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उनले बताए।
बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब आठ देखि १० लाख रहेको अनुमान छ।
यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो। समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो।
पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको थियो।