समकालीन वाणिज्यका मुद्दाहरूसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ।
नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेजले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरूले प्रस्तुति दिनेछन्।
आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य घनश्यामप्रसाद साहका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीहरुको सहभागिता रहनेछ।
मेगा कलेजको अडिटोरियमक हलमा आयोजना हुने सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे छलफल हुने उनले बताए।
‘यो अन्तर्राष्ट्रिय सम्मेलन मुख्यतः उद्योग, व्यापार, वाणिज्यजस्ता क्षेत्रमा विश्वभर चलेको ट्रेन्डको अध्ययन गर्न, नेपालजस्तो देशले लिनुपर्ने नीतिको फ्रेमवर्क तयार पार्न तथा अनुसन्धानकर्ताहरुको ज्ञानका दृष्टिले निकै महत्वपूर्ण रहनेछ। अर्थतन्त्रका विद्यार्थीदेखि विज्ञसम्मले यसबाट प्रत्यक्ष लाभ लिन सक्नुहुनेछ’, उनले भने।
यसअघि मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो।