नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या द्रुत गतिमा बढेकोले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन्।
विगत दुई दशकमा नेपालमा ६० वर्षभन्दा माथिको जनसंख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकोले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सुझाव उनीहरूले दिएका हुन्।
मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुतीकरण गरिएका चार वटा छलफल सत्रमा सहभागी विज्ञहरूले अब ज्येष्ठ नागरिकको जनसंख्या गनेर मात्र बस्नु उपयुक्त नहुने बताएका छन्।
त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा.पद्धम प्रसाद खतिवडाले नेपालमा बच्चा पाउने दर कम भए पनि बच्चा पाउने उमेरको जनसंख्या ठूलो भएकोले यो समूह क्रमश बुढ्यौलीतर्फ प्रवेश गरिरहेकोले नेपालमा आगामी केही दशकसम्म नै ज्येष्ठ नागरिरकको जनसंख्या बढिरहने बताए।
उनले ज्येष्ठ नागरिकलाई राज्यले हेरचाहन गर्ने सामाजिक सुरक्षाका कार्यक्रम व्यापक रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याएका छन्।
‘नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी नीति कार्यक्रम मनमोहन अधिकारीले सुरू गरेको ज्येष्ठ नागरिक भत्ताबाट सुरू हुन्छ,’ खतिवडाको प्रस्तुतिमा भनिएको छ, ‘२०५८ देखि ०६५ को अवधिमा यसको संस्थागत विकास भएको छ भने २०७२ को संविधानले ज्येष्ठ नागरिकका हकका बारेमा संवैधानिक सुनिश्चितता कायम गरेको छ।’
त्रिविका पूर्वप्राध्यापक विधान आचार्यले नेपालमा स्वास्थ्य सेवाको उपलब्धता, बढ्दो आर्थिक अवस्था आदिका कारण औसत आयु बढ्दै गएको बताएका छन्।
२०३८ सालतिर नेपालीकौ औसत आयु ४९.८ वर्ष रहेकोमा हाल करिब ७० वर्ष पुगेको उनले जानकारी दिए।
‘औसत आयु बढ्नु खुसीको कुरा हो। यससँगै घर-घरमै ज्येष्ठ नागरिकको संख्या थपियो। उनीहरूको हेरचाह अहिलेको प्रमुख चुनौती बन्न थालेको छ,’ आचार्यले भने, ‘यो चुनौतीको असर ज्येष्ठ नागरिकको जीवनमा परेको छ। उनीहरूले थप हेरचाह पाउनुपर्ने बेलामा अपहेलित त भएका छैनन् यसमा सबै पक्षको ध्यान जान ढिला भइसकेको छ।’
कपन बहुमुखी क्याम्पसका प्रमुख एवं जनसंख्या अध्येता भूमिदत्त पौडेलले २०५८ सालको जनगणनामा ज्येष्ठ नागरिकको जनसंख्या १४ लाख ७७ हजार ३ सय ७९ रहेकोमा २०७८ मा यो संख्या दोब्बरभन्दा बढी भएर २९ लाख ७७ हजार ३ सय १८ पुगेको बताए।
पौडेलका अनुसार नेपालको औसत जनसंख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर झण्डै तीन गुणा बढी छ।
हाल नेपालको औसत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ। कुल जनसंख्याको १०.२ प्रतिशत मानिसहरू ६० वर्षभन्दा माथिको उमेरका छन्।
सम्मेलनमा पत्रकार तथा जनसंख्या विश्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र मिडिया कभरेजका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अधिकारीको प्रस्तुतीमा ज्येष्ठ नागरिकका समाचार सञ्चार माध्यममा ज्यादै न्यून मात्रामा प्रस्तुत भएको उल्लेख गरिएको थियो।