दाङमा एक जना बसका चालकको करेन्ट लागेर मृत्यु भएको छ।
बबई गाउँपालिका–७ मलइका ४१ वर्षीय पूर्णबहादुर वलीको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
उनी रा. १ ख. २१९८ नम्बरको बसका चालक हुन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार दिउँसो मलइबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त बसको टायर बबई–७ पातिहाल्नास्थित भित्री सडक खण्डमा पंचर भएको थियो।
पूर्ण बसको छतमा राखिएको अर्को टायर निकाल्न चढेका थिए।
आवश्यक सावधानी नअपनाउँदा उनको निधारमा विद्युत विस्तारका लागि तानिएको नांगो तारले छोएको थियो।
प्रहरी प्रवक्ता बोहराका अनुसार त्यसैबाट लागेको करेन्टको झट्काका कारण पूर्ण अचेत बनेका थिए।
अचेत अवस्थाका उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।