प्यूठानमा जलनमा परेका बाबु–छोरीको मृत्यु भएको छ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपालीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा सानुको वैशाख १९ गते सवा ८ बजेतिर र छोरी अंजलीको पनि सोही अस्पतालमा वैशाख २९ गते ८ बजेतिर मृत्यु भएको हो।
प्रहरी निरीक्षक भट्टराईका अनुसार वैशाख १३ गते राति सवा १० बजेतिर श्रीमती सुशिला नेपालीसँगको सामान्य भनाभन तथा विवादपछि उनका श्रीमानले घर बाहिर निस्किएर शरीरमा पेट्रोल छर्केर आफैले आगो लगाएका थिए। त्यसपछि अञ्जलीले पेट्रोल खोस्ने र जोगाउन प्रयास गरेकी थिइन्।
तर, दुर्भाग्य तीव्र ज्वलनशील पेट्रोलले अंजलीको त्यो प्रयास सफल हुन दिएन।
त्यसक्रममा बाबु–छोरी गम्भीर जलनमा परे। सानुको ६० प्रतिशत र छोरीको झन्डै ३५ प्रतिशत भाग जलिसकेको थियो।
गम्भीर जलनमा परेका बाबु–छोरीलाई स्थानीय र प्रहरीको सहयोगमा तत्कालै जिल्ला अस्पताल बिजुवार पठाइयो।
१४ गते बिहान साढे १२ बजेतिर छोरी अंजलीलाई उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरियो। त्यसको केहीबेरपछि पौने २ बजेतिर सानुलाई पनि पाल्पा रिफर गरियो। अर्को दिन बेलुकीपख दुबैलाई कीर्तिपुरस्थित वर्न हस्पिटल रिफर गरियो।
सोही अस्पतालमा सुरूमा बुवाको मृत्यु भयो। अर्को दिन उनको शव प्युठान ल्याएर धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको भाइ वसन्त नेपालीले बताए।
त्यही बीच फेरि वैशाख २९ गते छोरी अंजलीको पनि मृत्यु भएपछि शव प्युठानमा ल्याएर बुधबार अन्तिम संस्कार गरिएको वसन्तले बताए।
वसन्तका अनुसार पछिल्लो समय उनी बाँकेको नेपालगंजमा बस्दै आएका छन्। जेठा दाजु सानु र भतिजी अंजली जलनमा परेको खबर सुनेपछि उनी भेट्न काठमाडौं पुगेका थिए।
‘कस्तो दुर्भाग्य भयो भने दाजु र भतिजी दुबै बचेनन्,’ उनले भने, ‘यो हाम्रो घर परिवारको लागि एउटा सहन गर्न मुस्किल भइरहेको दुःखद घटना हो।’
घटना कसरी भयो भन्नेबारे बसन्तले भाउजूसँग सोध्न पनि सकेका छैनन्।
‘श्रीमान र छोरी बितेपछि भाउजू गहिरो शोकमा पुग्नु भएको छ,’ वसन्तले भने, ‘भाउजू बोल्दै बोल्नु हुन्न र मैले उहाँलाई यस्तो बेलामा सोध्न पनि सकेको छैन।’
प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माका अनुसार श्रीमतीसँगको सामान्य झगडाका क्रममा अटो चालक सानुले घरमा राखेको पेट्रोल निकालेर आफैलाई आगो लगाएको र त्यसपछि बुवालाई बचाउन प्रयास गरेकी छोरीको पनि जलेर मृत्यु भएको दुःखद् घटनाले आफन्त र समाज स्तब्ध बनेको बताए।
अंजली परिवारकी जेठी छोरी हुन्। अब सुशिला नेपालीसँग एक छोरी र एक छोरा साथमा छन्। वडाध्यक्ष केसीका अनुसार नेपालीका चार पाँच दाजुभाइ रहे पनि जेठा सोनु बाहेक अन्य सबै बाहिर छन्। कोही विदेश र कोही जागिरका शिलशिलामा सबै बाहिर रहेको हुँदा दुःखको यो अवस्थामा नेपालीको परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा मेयर, उपमेयर लगायतसँग छलफल भइरहेको उनले बताए।