सुर्खेत प्रहरीले ब्राउन सुगर कारोबारीसँग स्रोत नखुलेको लाखौं रकम र सुनका गरगहना बरामद गरेको छ।
लागुऔषध ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले मंगलबार बेलुकीपख वीरेन्द्रनगर नगरपालिका–३ का ४८ वर्षीय यकेन्द्र सुनार, वीरेन्द्रनगर–१४ का २० वर्षीय प्रशान्त सुनारलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर –३ बाट पक्राउपछि खानतलासी गर्दा ३ ग्राम ७२० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो।
साथै उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद रुपैयाँ पाँच लाख १५ हजार पाँच सय ५० रुपैयाँ नगद र बिल भरपाई नभएको सुन चाँदाीका गहना पनि बरामद गरेको थियो।
डिएसपी बुढथापाका अनुसार उनीहरूको साथबाट पहेँलो धातुबाट बनेको (सुनजस्तो देखिने) माइली तिलहरी–५ थान, चन्द्रमा–५ थान, औंठी–३२ थान, चन्द्रमा हार–१ थान, काँटा– ८ थान, पाइप–४ थान, जुली – ६ थान, टप – ४ थान, नथिया–२ थान, बुलाकी– १ थान, फुली – १ थान, मँडरी – २ थान, माला – १ थान, औंठी –१ थन बरामद भएको थियो। त्यस्तै, चाँदीको जस्तो देखिने सिक्री–३ थान, पाउजु–३० थान, औंठी– ३२ थान, बिछिया– ४ थान, सिक्का – २ थान, पाउजु अड्काउने – २८ थान र बाला – १० थान बरामद भएको थियो।
बरामद धातुका गरगहनाहरू परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकामध्ये एक जनाले आफूहरूको विगतमा कालिकोटमा सुन चाँदीको पसल रहेको र विगत चार पाँच वर्षदेखि थन्किएको सुन बिक्रीको लागि ल्याएको भन्ने प्रहरीलाई बयान गरेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।