काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता ढंगोलले सुकुम्बासी बालबालिकासँग कुराकानी गरेकी छन्।
शुक्रबार दिउँसो महानगरको कार्यालयमा सुकुम्बासी बालबालिका, अभिभावक र केही विद्यालयका प्रतिनिधिहरूसँग कुराकानी गरेकी हुन्।
बालबालिकालाई आवासीय शिक्षा उपलब्ध गराउन बालबालिका, अभिभावक र स्कुलको प्रतिनिधिसँग कुराकानी गरेको महानगरका सहायक प्रवक्त महेशकुमार काफ्लेले जानकारी दिए।
उनका अनुसार कीर्तिपुर नगरपालिका–१० राधास्वामी सत्संग व्यास नेपालको होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका र अभिभावकहरू कुराकानी भएको हो।
होल्डिङ सेन्टरमा बसिरहेका ६१ बालबालिकाहरूको सो इच्छा अनुसार जहाँ बसेर पढ्न मन भएपनि कक्षा-१० सम्म अध्ययन गराउने तयारी भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।
'परिवारसँग वा होस्टेल बसेर पढ्ने दुवैलाई अभिभावक, महानगर र विद्यालयहरूले सहकार्य गर्ने छलफल भएको छ,' उनले भने, 'त्यही क्रममा मेयर डंगोलले बालबालिकालाई प्रत्यक्ष रूपमा कुराकानी गर्नुभएको हो।'
बालबालिकाहरूसँग प्रत्यक्ष कुराकानी गर्दा डंगोलले बालबालिकालाई भविष्यमा के बन्न, के पढ्न मन छ भनेर सोधेकी थिइन्।
बालबालिकाहरूले कसैले प्रहरी, क्रिकेटर, डाक्टर, शिक्षक, आर्मी भनेर जबाफ दिएका थिए।
बालबालिकाहरूको जबाफ सुनेपछि उनीहरूले चिताएको कुरा पूरा गर्न मेयर डंगोलले कुनै कसर बाँकी नछाड्ने बताएको काफ्लेले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार महानगरपालिकाले रेखदेख गर्दै आएको कीर्तिपुरको होल्डिङ सेन्टरका बालबालिकालाई शिक्षाबाट बञ्चित गराइँदैन। अन्य बालबालिकाको हकमा भने आफूलाई थाहा नभएको उनी बताउँछन्।
'हामीले कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका मानिसहरूको मात्र हेरिरहेका छौं। बाँकीको हकमा सरकारले गरिरहेको छ,' उनले भने।
वैशाख १२ गते काठमाडौंका सुकुम्बासी बस्ती भत्काएपछि उनीहरूलाई दशरथ रंगशाला लगिएको थियो। त्यहाँबाट जो-जो सुरूमा सम्पर्कमा आए, उनीहरूलाई कीर्तिपुर लगिएको थियो। त्यहाँ व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले लिएको छ।