दक्षिणी बंगालको खाडीमा एक साताअगाडि नै मनसुन भित्रिएको छ। जसका कारण नेपालमा पनि एक साताअघि नै मनसुन भित्रने सम्भावना देखिएको छ।
भारतीय टापु अण्डमान तथा निकोबार क्षेत्रमा एक साताअगाडि नै मनसुन भित्रिएको हो। दक्षिणी बंगालको खाडीमा सामान्यतया २२ मेमा मनसुन भित्रने गर्छ। यसपटक शनिबार नै अर्थात् १६ मेमै भित्रिएको छ।
नेपालमा साधारणतया १३ जुनमा मनसुन भित्रने जल तथा मौसम विज्ञान विभागले बताउने गरेको छ। गत वर्ष २९ मे अर्थात् जेठ १५ गते नै भित्रिएको थियो। यो सामान्यतया १५ दिनअगावै हो।
मौसमविद् विनोद पोखरेलले यसपटक पनि मे महिनाको अन्तिमसम्म नेपालमा मनसुन भित्रन सक्ने पूर्वानुमान गरेका छन्। यद्यपि मनसुनको विकास र गतिले तलमाथि पार्ने हुँदा अहिले नै यकिन गर्न भने सकिँदैन।
‘यस वर्षको मनसुन दक्षिणी बंगालको खाडीमा साामान्यभन्दा लगभग एक हप्ता अगाडि सुरू भएको छ। हालको पूर्वानुमानले यो मे महिनाको अन्त्यसम्ममा पूर्वी नेपालमा प्रवेश गर्न सक्ने सुझाव दिन्छ यद्यपि, यो पूर्वानुमान आगामी दिनहरूमा परिवर्तन हुन सक्छ,’ उनले भने।
गत वर्ष नेपालमा मनसुन १३४ दिन रहेर असोज २४ मा बाहिरिएको थियो।
गत वर्ष पनि नेपालमा मनसुन याममा औसतभन्दा कम नै वर्षा भएको थियो। यस वर्ष पनि मौसमी प्रणालीमा आएको फेरबदल; खासगरी एल–निनो प्रणालीका कारण मनसुन ऋतुमा औसतभन्दा कम वर्षा हुने र असौतभन्दा बढी गर्मी हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

प्रि–मनसुन याममा औसतभन्दा बढी वर्षा
यस वर्ष प्रि–मनसुन याममा औसतभन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले फागुन १७ देखि जेठ १७ गतेसम्मको अवधिलाई प्रि–मनसुन याम भन्ने गरेको छ। साधारणतया प्रि–मनसुनमा २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ।
विभागले अद्यावधिक गरेको सूचनाअनुसार जेठ १ गतेसम्म २३७.२० मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले आधार मान्ने २० मौसम केन्द्रमध्ये जुम्लामा मात्रै औसतभन्दा कम वर्षा मापन भएको छ। बाँकी सबै केन्द्रको तथ्यांक औसतभन्दा माथि छ।
यो भनेको १०३.६ प्रतिशत हो। २०७८–२०७९ सालको प्रि–मनसुन याममा पनि औसतभन्दा बढी वर्षा भएको थियो। उक्त वर्ष २३३.९ मिलिमिटर अर्थात् १०३.४ प्रतिशत वर्षा भएको थियो।
