सर्खेतमा सडकमा बसेर काफल बेचिरहेकी महिलाको डोको खोसेर काफल पोखिदिएको घटनामा पीडितलाई नगद १० हजार प्रदान गरिएको छ।
वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल (भण्डारी) ले पीडित महिलालाई खोजेर नगरपालिकामा ल्याई १० हजार रुपैयाँ प्रदान गरिएको सेतोपाटीलाई बताइन्।
‘हामीले उहाँलाई कर्मचारी परिचालन गरी खोजेर कार्यालयमा ल्याएर सोध्यौं,’ मेयर ढकालले भनिन्, ‘उहाँले सात हजार पाँच सयको काफल थियो भन्नु भएको थियो र हामीले उहाँलाई थपेर १० हजार दिँदा उहाँ खुसी हुनुभयो।’
उनले अगाडि भनिन्, ‘हामीले उहाँलाई खुसी बनाएर मात्रै पठाएका छैनौं, त्यसरी सडकमा बसेर सामान बेच्दा ज्यान जान सक्छ, त्यसैले नगरपालिकाले तोकेको ठाउँमा बसेर बेच्नुहोला भन्ने सम्झाएर पनि पठाएका हौं।’
पीडित महिला ३२ वर्षीया धमिला चौलागाईं कालिकोटकी हुन्।
कालिकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा बस्दै आएकी उनी सुर्खेतमा डोको नाङ्लोमा सिजन अनुसारका व्यापार गरी परिवारिक खर्चको जोहो गर्दै आएकी छिन्। उनका श्रीमान र बच्चाबच्ची साथमै रहेको मेयर ढकालले बताइन्।
यसका साथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बुधबार नै एक वक्तव्य सार्वजनिक गर्दै दोषी नगर प्रहरीलाई विभागीय कारबाही गरिने बताएका छन्।
यो पनि:
डोकोमा काफल बेचिरहेकी महिलामाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध