बुटवलमा जटिल रोगका बिरामीहरूको संख्या हरेक वर्ष थपिँदै गएको छ।
उपचारका लागि अस्पताल धाउने र सरकारी सहायताका लागि बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिने बिरामीहरूको लामो लाइन लाग्न थालेको छ।
संघ, प्रदेश र स्थानीय सरकारले नसर्ने तथा जटिल रोगहरूको नियन्त्रण र रोकथामका लागि बर्सेनि लाखौं रुपैयाँ बजेट विनियोजन गर्दै आएका छन्, तर बिरामीको संख्या भने घट्नुको साटो झनै उकालो लागिरहेको छ।
नेपाल सरकारले मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमियालाई जटिल रोगको सूचीमा राखेको छ।
नेपाल सरकारले मुटु सम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमियालाई जटिल रोग मानेको छ। जस मध्ये मुटुको अप्रेसन, मिर्गौला प्रत्यारोपण, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमियाका बिरामीलाई उपचारका लागि एक पटकका लागि एक लाख रुपैयाँ र औषधीका लागि मासिक ५ हजार रुपैयाँ दिँदै आएको छ। मिर्गौलाका बिरामीहरूलाई निःशुल्क डाइलासिस सेवा दिँदै आएको छ।
लुम्बिनी प्रदेश सरकारले मुटुको भल्भ फेर्नुपर्ने, मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र क्यान्सरका बिरामीलाई एक पटकका लागि दुई लाख रुपैयाँ दिने गरेको छ। त्यस्तै बुटवल उपमहानगरपालिकाले पनि बुटवलमा स्थायी बसोबास गरिरहेका जटिल रोगका बिरामीलाई एक पटकका लागि १७ हजार रुपैयाँ दिने गरेको छ।
बिरामीहरूको उपचारको लागि आर्थिक सहयोगसँगै सङ्घ प्रदेश र स्थानीय सरकारले नसर्ने तथा जटिल रोगहरूको नियन्त्रणका लागि ठूलो रकम खर्चिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर बिरामीहरूको संख्या प्रत्येक वर्ष थपिँदै जानुले रोग नियन्त्रणका लागि सरकारले गरेको लगानी बालुवामा पानी सरह बनिरहेको छ।
बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाको पछिल्लो चार वर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि जटिल रोगहरूको समस्या कति भयानक ढङ्गले अगाडि बढिरहेको छ भन्ने स्पष्ट हुन्छ।
बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार पछिल्लो चार वर्षमा मात्र बुटवलबाट ५७८ जना जटिल रोगका बिरामीले उपचारका लागि रकम प्राप्त गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा १४२ जना जटिल रोगका बिरामीले बुटवलबाट उपचारका लागि रकम लगेकोमा आर्थिक वर्ष २०८०/८१ मा १६१ बिरामी थपिएका थिए।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा १५८ जना बिरामी थपिएका थिए भने चालु आर्थिक वर्षको जेठ २० गतेसम्म ११७ बिरामी थप भएका छन्।
उपमहानगरपालिकाको यो आधिकारिक संख्या त केवल उपचारका लागि आर्थिक सहायता लिन आउनेहरूको मात्र हो। आर्थिक अभाव वा चेतनाको कमीले अस्पताल र उपमहानगरपालिका सम्म पुग्नै नसकेका बिरामीको संख्या योभन्दा निकै ठूलो हुनसक्ने अनुमान स्वास्थ्यकर्मीहरूको छ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार तीनै तहका सरकारले बर्सेनि जटिल रोगहरूको रोकथामका लागि चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गरे पनि रोगको विस्तार रोक्न सकिएको छैन, जसले सरकारका कार्यक्रम र नागरिकको जीवनशैलीबिच ठूलो खाडल रहेको देखाउँछ।
चिकित्सकहरूका अनुसार जटिल रोगहरू एक्कासि नभई मानिसको जीवनशैली, खानपान, आचरण र वातावरणका कारण बिस्तारै शरीरमा घर बनाउँछन्। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समीर गौतम बढ्दो सहरीकरणसँगै अस्वस्थ कर र मिसावटयुक्त खानपान, बजारिया जङ्क फुडको अत्यधिक प्रयोग, शारीरिक श्रम वा व्यायामको कमी, अत्यधिक मानसिक तनाव, धूम्रपान र मदिरा पानको लत नै जटिल रोगहरूको प्रमुख कारण रहेको बताउँछन्।
यसका साथै बढ्दो वायु र ध्वनि प्रदूषण, विषादीयुक्त सागसब्जीको उपभोग र नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा रोगले मुटु, मिर्गौला फेल हुने र क्यान्सर जस्ता समस्या डरलाग्दो गरी बढिरहेको डा. गौतम बताउँछन्।
‘जटिल रोगहरू लाग्नबाट जोगिन दैनिक कम्तीमा ४५ मिनेट शारीरिक व्यायाम गर्ने, योग गर्ने वा पैदल हिँड्ने बट्टामा बन्द गरिएका, धेरै नुन वा चिनी भएका र प्रशोधित खानेकुराहरूको उपभोग नगरी ताजा र सन्तुलित भोजनमा जोड दिनु आवश्यक छ,’ डा. गौतम भन्छन्।