काठमाडौं उपत्यकाबाट हेटौंडा जोड्ने दुइटा सडक खण्डमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ।
अविरल वर्षापछि सडकका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाब बढेका कारण मकवानपुर प्रशासनले काठमाडौं र ललितपुरबाट हेटौंडा जोड्ने सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विज्ञप्ती जारी गर्दै सडक यातायात उच्च जोखिमपूर्ण बनेकाले दुई सडकखण्डमा सवारी सञ्चालनमा अस्थायी रोक लगाएको छ।
प्रशासनले आइतबार जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको स्थान र समयपछि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ।
साथै मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न पनि अनुरोध गरिएको छ।
प्रशासनका अनुसार हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडक अन्तर्गत चौघडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालनमा रोकिएको छ।
हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक अन्तर्गत चेकिटोल, हेटौँडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन रोक लगाइएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।
