कालिकोटमा सोमबार पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला कोसान्नी त्रिवेणी गाउँपालिका– ६ धामीगाउँका ७६ वर्षीय लालबहादुर साउद र ४६ वर्षीय मन्दिर राउदको पहिरोमा परी मृत्यु भएको हो।
जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक बर्मा यादवका अनुसार दिउँसो काप्रीखोलाको घट्टमा पिस्न गएका उनीहरूलाई बसिरहेको समयमा करिब २५ मिटर माथिबाट झरेको पहिरोले पुरेको थियो।
प्रहरी निरीक्षक यादवका अनुसार उनीहरू बिहान ६ बजे घरबाट घट्टमा पिस्न भनेर गएका थिए।
घट्ट समेत पहिरोले पुरिएको तथा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दिउँसो २ बजे घटनाबारे थाहा पाएपछि प्रहरी चौकी मेहलमुडीबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्का नेतृत्वको प्रहरी घटनास्थल पुगेको थियो।
घटनास्थलतर्फ जिल्लाका प्रहरी प्रमुख हिमबहादुर खत्री पनि लागेका छन्।