कान्तिपुर, अनलाइनखबर र हिमालयन टेलिभिजनको अफिस गेट छेकिने गरी पार्किङ गरिएको घटनामा ट्राफिक प्रहरीले जरिवाना गरी छाडेको छ।
सोमबार साँझसम्म तीन वटा मिडिया हाउस अगाडि राखिएका गाडीलाई ट्राफिक नियम अनुसार जरिवाना गरी छाडिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले जानकारी दिए।
तीनकुनेस्थित कान्तिपुर मिडियाको गेट अगाडि बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरी छाडिएको थियो। कान्तिपुरले प्रसारण गरेको सिसिटिभी फुटेजमा एक व्यक्तिले मास्क, चस्मा र क्याप लगाएका व्यक्तिलाई सुरक्षा गार्डले पार्किङ नगर्न अनुरोध गर्दागर्दै पनि छाडेर गएको देखिन्छ।
उक्त गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य रहिसकेका रवि जयसवालको रहेको खुलेको थियो।
बुद्धनगरस्थित अनलाइनखबरको अफिस अगाडि पनि त्यस्तै किसिमले आवागमन रोकिने गरी गाडी पार्क गरिएको सूचना सार्वजनिक भएको थियो। त्यहाँ बा १२ च ८५४५ नम्बरको गाडी पार्क गरिएको थियो।
उक्त गाडी सुनिल पौडेलको नाममा रहेको खुलेको थियो। त्यस्तै पछि सुजन पौडेलको नामक व्यक्तिले त्यहाँ पार्किङ गरेको खुलेको हो।
त्यसैगरी हिमालयन टेलिभिजन अगाडि बा १० च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा रहेको देखिएको थियो।
यसरी विभिन्न मिडिया हाउस अगाडि गाडी राखेर छाडिएको घटनामा सर्वत्र विरोध समेत भएको थियो।
यस घटनामा ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरी सबैलाई जरिवाना गरी छाडेको हो।
एसएसपी काफ्लेले काठमाडौंका १४ वटा ठाउँमा अनाधिकृत रूपमा पार्किङमा राखिएका गाडीलाई कारबाही गरिएको बताए।
सोमबार नै काठमाडौंको अनामनगरस्थित भाटभटेनी अगाडि, नेपाली कांग्रेसको सभापति गगन थापाको घर अगाडि, बानेश्वरको बीच सडक लगायत विभिन्न ठाउँमा अनधिकृत रूपमा पार्किङ गरी छाडिएको खुलेको थियो।
मिडिया क्षेत्रमा आतंक सिर्जना हुने गरी र ट्राफिक व्यवस्थापन समेत अस्तव्यवस्त हुने गरिएको यस घटनामा ट्राफिक प्रहरी प्रशासनले सामान्य सोधपुछ मात्रै गरेको छ।
‘हामीले सोध्दा कतिपयले अरूले नै राखेको, ड्राइभरले लगेको, मापसे गरेको, जस्तो कुराहरू गरे। यस्तो गर्न भएन नि भन्दा अब गर्दैनौं भनेर जबाफ दिए,’ एसएसपी काफ्लेले भने, ‘कतिपय पटकपटक गर्नेहरू पनि छन्।’
मिडिया हाउस अगाडि शंकास्पद रूपमा गाडी राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले शंकास्पद वस्तु राखिएको हुनसक्ने आशंकामा जाँच समेत गरेको थियो। कुनै शंकास्पद वस्तु नरहेको देखिएपछि क्रेनको मद्दतले सबै गाडीलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय पुर्याइएको थियो।