कर्जाको रकम दुरूपयोग गरेको आरोपमा प्रहरीले एक रिसोर्टका अध्यक्षलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष ५८ वर्षीय शशिधर शर्मालाई पक्राउ गरेको हो।
रूपन्देही घर भएका उनलाई प्रहरीले मंगलबार काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
शर्माले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएका थिए। उक्त कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भन्ने कबुलियतनामा कागजमार्फत कर्जा लिएका थिए।
तर यसरी लिइएको कर्जालाई अध्यक्ष शर्माको पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्नका लागि उक्त प्रयोग गरी दुरूपयोग गरेको आरोप उनीमाथि छ।
नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदन पेस गरेको थियो। उक्त प्रतिवेदनअनुसार सिआइबीले अनुसन्धान अघि बढाएको थियो।
सिआइबीले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम उच्च अदालत पाटनबाट अनुमति लिएर पक्राउ गरिएको थियो।