१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा दाङ, तुलसीपुरका एक जना शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ७ का ४३ वर्षीय डिआर भण्डारी छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार यही घटनामा मंगलबार पक्राउ परेका अर्का व्यक्तिको भने संलग्नता नखुलेपछि छाडिएको छ।
पीडित किशोरीले शिक्षक डिआर विरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
मंगलबार राति तुलसीपुर उपमहानगरपालिका – ६ स्थित एक होटलमा डिआर मदिराले मातेका थिए। किशोरी वेटरका रूपमा गएका बेला उनले जबरजस्ती ढोका बन्द गरी मुख थुनेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
डिआरसँगै गएका अर्का व्यक्ति भने त्यो समय बाहिर गएका स्रोतले बताएको छ। मंगलबार पक्राउ परेर छुटेका उनै व्यक्ति हुन्।
बालात्कारपछि किशोरीले रूँदै गुहार मागेपछि डिआर त्यहाँबाट गाडीमा भागेका थिए। भाग्ने क्रममा लक्ष्मी नारायण मन्दिर नजिकै दुर्घटनामा परेपछि गाडी छाडेर भागेको प्रहरीले जनाएको छ।
त्यो गाडी राती प्रहरीले डोजरको सहायतामा उठाएको थियो।
डिआर भागे पनि उनका साथी होटल बाहिर फेला परेका थिए। बलात्कार गरेर भाग्ने डिआरलाई बोलाउन भन्दै सोही होटलमा रहेका अन्य ग्राहकले उनका साथीलाई सामान्य कुटपिटसमेत गरेको स्रोतले बताएको छ।
त्यसपछि होटलका अन्य ग्राहकले प्रहरीलाई सम्पर्क गरी घटनाबारे अवगत गराएका थिए।
प्रहरी टोली पुगेर पीडित किशोरीको उद्धार गरी अस्पताल पुर्याएको थियो।
बलात्कारपछि फरार डिआरलाई राति फेला पर्न सकेका थिएनन्। बुधबार बिहान किशोरीको किटानी जाहेरीपछि उनी साढे ११ बजेतिर पक्राउ परेका हुन्।
प्रहरीका अनुसार डिआर तुलसीपुरकै एक निजी स्कुलका पूर्वप्रिन्सिपल हुन्। हाल सोही स्कुलमा सिइओ र शिक्षक छन्।
डिआरलाई बिहीबार अदालतमा म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ।