नारायणी नदीमा आएको बाढी सुस्तामा पस्दा ४० घर डुबानमा परेका छन्।
शुक्रवार आएको बाढीले नदीमा लगाएको अस्थायी बाँध भत्काएर बस्ती डुबानमा परेको हो।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार शुक्रबार बिहानैदेखि नारायणीको बाढीले सुस्तावासीले लगाएको अस्थायी बाँध भत्काउन थालेको थियो।
झन्डै ५० मिटर बाँध भत्काएपछि सुस्ता गाउँपालिका वडा नं. ५ स्थित थारु टोलमा बाढी पसेको थियो।
बस्तीमा बाढी पसेपछि घरहरू जलमग्न बनेका थिए।
शनिबार दिउँसोसम्म पनि घर भित्रको पानी सुकेको छैन। माटो र फुसको गाह्रो लगाएर बनाइएका कच्ची घरहरू बाढीको डुबानमा पर्दा स्थानीयमा त्रास बढेको छ।
बाढीले कतिपय घरका अन्नपात र लत्ता कपडा बगाएको छ। कतिपयले भने घरभित्र बाढी पसे पनि अन्नपात र लत्ता कपडा जोगाएको हरिजनले बताए।
शनिबार नारायणी नदीमा बाढी घटे पनि पानी पर्ने र सम्भावना रहेकोले स्थानीयमा त्रास कायम नै छ। सुस्ताको बस्तीलाई नारायणी नदीले तीन तर्फबाट घेरेको छ भने एकातर्फ भारतीय भूभागले घेरिएको छ।
तीन तर्फबाट घेरिएको नारायणी नदीमा बाढी आउँदा हरेक वर्ष सुस्ता डुबान र कटानको चपेटामा पर्दै आएको छ।
नारायणी नदीबाट हुने कटान र डुबानलाई रोक्न तटबन्ध लगाउने प्रयास गरिए पनि भारतीय एसएसबीको अवरोधका कारण सफल हुन सकेको छैन। नारायणी नदीको १ किलोमिटर क्षेत्रमा नेपालले पक्की तटबन्ध लगाए पनि १३२ मिटर क्षेत्रमा तटबन्ध लगाउन ठेक्का प्रक्रिया अगाडी बढाइएको थियो। तर भारतीय एसएसबीको अवरोधका कारण काम हुन सकेको छैन।
स्थानीयले आफै श्रमदान गरेर लगाएको अस्थायी बाँध पनि भारतीय एसएसबीले भत्काइदिएपछि विवाद उत्पन्न भएको थियो।
भारतीय एसएसबीको हस्तक्षेप र अवरोधलाई बेवास्ता गर्दै सुस्तावासीले फेरी अस्थायी बाँध लगाएका थिए।
तर, बाँध लगाएर पुरा नगर्दै आएको बाढीले त्यही बाँध पनि भत्काइदिएको छ। भत्किएको बाँध क्षेत्रमा स्थानीयले बोटबिरुवाका हाँगा, झालापाता लगायत राखेर कटान रोक्ने प्रयास गरिरहेको हरिजनले बताए।
वर्षायाम नसकिएको र पानी पर्ने सम्भावना यथावत् रहेकोले नारायणीको बाढीबाट सुस्ताको बस्तीमा क्षति हुन नदिन र सर्वसाधारणको उद्धारको लागि सुरक्षाकर्मी तैनाथ राखिएको स्थानीय प्रशासनले बताएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले शुक्रबार बस्तीमा पसेको बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र अब बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी तैनाथ गरिएको बताए।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले तटबन्ध लगाउन भारतीय पक्षले अवरोध गरेको स्थानबाटै बस्तीमा बाढी पस्न थालेको बताए।
गौतमले सुस्ताको बारेमा सरकार संवेदनशील हुन नसकेको बताए।
उनले सरकारी क्षेत्रबाट अनुगमन मात्र भइरहेको तर, कटान रोक्ने र सुस्ताको भूमि संरक्षण गर्ने काममा सरकारले कुनै ठोस कदम चाल्न नसकेको बताए।