दिगो सम्पदा र विकासका लागि कार्य योजना तय गर्दै बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (यूनेस्को) र विश्व बैंकले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरको बारेमा छलफल गरिएको थियो।
अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका सम्पदा विज्ञ तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनले बृहत्तर लुम्बिनी क्षेत्रका लागि स्पष्ट सिफारिस र ठोस कार्यदिशा समेटिएको संयुक्त सुझाव सिफारिस गरेको छ।
विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजना अन्तर्गत बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीसँग जोडिएका रुपन्देहीको देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निर्माण गर्न ८५ मिलियन अमेरिकी डलर (साढे १२ अर्ब नेपाली रुपैयाँ) बराबरको ऋण अनुदान उपलब्ध गराएको छ।
सोही आयोजना कार्यान्वयनका लागि लुम्बिनीमा विज्ञ, जनप्रतिनिधि र सरोकारवालासँग सुझाव सङ्कलनका लागि सम्मेलन आयोजना गरिएको युनेस्कोले जनाएको छ। सहभागीहरूले स्थानीय समुदायको समेत सहभागितामा आयोजना कार्यान्वयनमा लैजान सुझाव दिएका छन्।
सम्मेलनले पवित्र उद्यानको शान्त बौद्ध वातावरण कायम राख्ने र धार्मिक, सांस्कृतिक तथा आगन्तुकका गतिविधिहरूले यहाँको पवित्र दृश्य चित्र, स्थानीय रीतिरिवाज र आस्थाको सम्मान गर्ने कुरा सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ।
त्यस्तै लुम्बिनी विकास कोष, तोकिएका सामुदायिक संस्थाहरू, विहार गुम्बा समुदाय र सम्बद्ध स्थानीय सरोकारवालाहरूसँगको निकट सहकार्यमा नगरपालिकाहरूमार्फत स्थानीय समुदायको सहभागिता समन्वय गर्ने।
सम्पदा संरक्षण, सामुदायिक विकास, वातावरणीय संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरहरूलाई एकीकृत गर्ने पवित्र परिदृश्य केन्द्रित विकास पहुँच अपनाउने।
पूर्वाधार वा विकास निर्माणका कार्यहरू स्वीकृत गर्नुअघि गुरुयोजना, भू(उपयोग योजना, संरक्षण योजना, जल वैज्ञानिक अध्ययन, ढल निकास तथा वातावरणीय न्यूनीकरण योजनाहरू तयार गरी लागू गर्ने।
पवित्र उद्यान, मायादेवी मन्दिर, प्राचीन स्मारक र पुरातात्त्विक अवशेषहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्य(मान्यताको सम्मान हुने गरी तिनको पुनर्स्थापना र मर्मत सम्भार गर्ने।
आगन्तुक तथा पर्यटकहरूलाई लुम्बिनीका रीतिरिवाजको अर्थ र महत्वबारे जानकारी तथा शिक्षा प्रदान गर्ने।
त्यस्तै लुम्बिनीस्थित पवित्र उद्यान, मायादेवी मन्दिर, प्राचीन स्मारक तथा पुरातात्त्विक अवशेषहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्यमान्यताको सम्मान हुने गरी जीर्णोद्धार तथा संरक्षण गर्न समेत सुझाव दिइएको छ।
यसै गरी सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण र संरक्षकत्व र स्थानीय जीविकोपार्जनका अवसरहरूलाई एकीकृत गर्ने, पूर्वाधार वा विकास निर्माणका कार्यहरू स्वीकृत गर्नुअघि गुरुयोजना, भू उपयोग योजना, संरक्षण योजना, जल वैज्ञानिक अध्ययन, ढल निष्कासन र निकासका उपायहरू र पर्यावरणीय न्यूनीकरण योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
सम्मेलनमा विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ इलाड शेनफेल्डले लुम्बिनीको पुरातात्त्विक संरचनाहरू अमूल्य रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि लुम्बिनीलाई जीवन्त र पवित्र बनाउने गरी बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना कार्यान्वयनमा लैजाने बताए।
उनले लुम्बिनी क्षेत्रको पूर्वाधार सुधार र सम्पदा संरक्षणले स्थानीय समुदायलाई वास्तविक रूपमै आर्थिक लाभ पुर्याउने बताए।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइटले लुम्बिनी विश्व सम्पदा र शान्तिको एउटा पवित्र संगम स्थल रहेको र विश्वभरका मानिसहरूलाई शान्तिको मार्गमा डोर्याउने गरेको बताए।
कार्यक्रमको उद्घाटनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले धार्मिक तथा आध्यात्मिक पवित्रतालाई कायम राख्दै विकासलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका थिए।
उनले विश्व बैङ्कसँगको साझेदारीमा सञ्चालित बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना मार्फत लुम्बिनीलाई विश्वमाझ अझै स्थापित गराउने अवसर प्राप्त भएको बताए।
बौद्ध समुदाय र स्थानीय जनताका आकाङ्क्षाहरूलाई केन्द्रमा राखेर परियोजना कार्यान्वयनमा लैजानुपर्ने भन्दै तीर्थयात्रीहरूले प्रार्थना, ध्यान, अध्ययन र बौद्ध अभ्यासका लागि सम्मानित अवसरहरू पाउनुपर्ने र स्थानीय समुदायले रोजगारी, जीविकोपार्जन, उद्यमशीलता र विकासमा सार्थक सहभागिता पाउनुपर्ने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि संघ र प्रदेश सरकार सँग हातेमालो गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्। बृहत्तर लुम्बिनीको सन्तुलित विकास र ऐतिहासिक वस्तुहरूको संरक्षण सुनिश्चित गर्न आफूहरूको पूर्ण साथ रहने उनको भनाई छ।
लुम्बिनी विकास कोषका कार्यवाहक सदस्य सचिव ज्ञानिन राईले सम्मेलनले लुम्बिनीको महत्वलाई पुनः पुष्टि गरेको बताए। उनले बृहत्तर लुम्बिनी क्षेत्र जीवित सम्पदा स्थल, तीर्थस्थल र आध्यात्मिक थलो भएकाले यसको विकासमा बृहत्तर लुम्बिनी परियोजना सहयोगी बन्ने विश्वास व्यक्त गरे।
विभिन्न मुलुकका समेत विज्ञहरू सहभागी रहेको सम्मेलनपछि बृहत्तर लुम्बिनी क्षेत्रभित्र पर्ने कपिलवस्तुको तिलौराकोट लगायतका प्रमुख सम्पदा स्थलहरूको स्थलगत अवलोकन गरिएको थियो।