भारत 'ए' विरुद्ध एसिया कप राइजिङ स्टार्सको खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको छ। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा नेपाल २६ रनमै अलआउट भयो।
भारत 'ए' ले दिएको ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै समेटियो। नेपालले भारत 'ए' सँग ३०६ रनको लज्जास्पद हार बेहोरेको हो।
टस जितेर पहिले बलिङ गरेको नेपालले निर्धारित ५० ओभरमा भारत 'ए' लाई ९ विकेटको क्षतिमा ३३२ रन बनाउन दिएको थियो।
भारत 'ए' का लागि कप्तान तिलक वर्माले १०७ रनको शतकीय इनिङ खेले। उनले ११३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
यस्तै कुमार कुशाग्राले १०२ बलमा १० चौका र ५ छक्कासहित ११७ रन बनाए। सूर्यांश शेड्गेले १४ बलमा अविजित ३६ रन जोडे।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे। नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट लिए।
३३३ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ भने निकै निराशाजनक रह्यो। नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पवन सर्राफले सर्वाधिक ६ रन बनाए। राशिद खानले पनि ६ रन नै जोडे।
प्रतिश जिसीले ४, नन्दन यादवले २ र ललित राजवंशीले अविजित २ रन बनाए। दीपक डुम्रेले १ रन जोड्दा बाँकी चार ब्याटर खाता खोल्नै नसकी आउट भए।
भारत 'ए' का बलर प्रिन्स यादवले ५ विकेट लिए। उनले ५ ओभरमा ६ रन मात्रै खर्चिए। हर्षित रानाले ६ ओभरमा १६ रन दिँदै ४ विकेट लिए। शाहबाज अहमदले पनि १ विकेट हात पारे।
नेपालले पहिलो विकेट शून्य रनमै गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाएको नेपालले १७ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो। अन्ततः २६ रनमा नेपालको इनिङ समाप्त भयो।
भारत 'ए' का कुमार कुशाग्रा प्लेयर अफ द म्याच घोषित भए।