एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा करातेकी एरिका गुरुङले लगातार तेस्रोपटक उत्कृष्ट महिला खेलाडीको सम्मान हात पार्दै कीर्तिमान बनाएकी छन्।
यस वर्ष बक्सिङका चन्द्रबहादुर थापा उत्कृष्ट पुरुष खेलाडी घोषित हुँदा एरिकाले लगातार तीन संस्करणमा यो अवार्ड जित्ने पहिलो खेलाडीका रूपमा इतिहास रचेकी हुन्।
करातेको अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि उल्लेखनीय सफलता दिलाउँदै आएकी एरिकाले यसपटक पनि महिला खेलाडीको विधामा बाजी मारिन्।
भलिबलकी मिना सुनारले दर्शक तथा समर्थकको रोजाइमा आफूलाई अब्बल सावित गर्दै पिपल्स च्वाइस अवार्ड जितिन्।
मतदानमा मिना २९.०४ प्रतिशत मतसहित पहिलो भइन्। उनले एमएमए खेलाडी रवीन्द्र ढाँट, करातेकी सानुमाया थिङ, फुटबलकी पूजा राना र क्रिकेटका शेर मल्ललाई पछि पारिन्। रवीन्द्रले २४.५३ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे।
करातेका प्रशिक्षक कुशल श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे। एसियाली खेलकुदमा ऐतिहासिक पदक दिलाउने एरिका गुरुङका प्रशिक्षक श्रेष्ठको योगदान एरिकामा मात्र सीमित छैन।
नेपाली ब्याडमिन्टनमा लामो समय योगदान पुर्याएका पूर्व राष्ट्रिय खेलाडी कुमार मोहन बहादुर शाहीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो।
ब्याडमिन्टन खेलाडीका रूपमा देशको प्रतिनिधित्व गर्नुका साथै नेपाली खेलकुदमा उनले पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।
ब्लाइन्ड महिला क्रिकेट टोलीकी सुस्मा तामाङले उत्कृष्ट पारा खेलाडीको अवार्ड आफ्नो नाममा पारिन्।
करातेकी मनीषा कुमारी बोहोरा उत्कृष्ट युवा खेलाडी घोषित भइन्।
नेपाली करातेमा लामो समयदेखि सक्रिय बालाजु कराते डोजोका सञ्चालक, प्रशिक्षक तथा रेफ्री ध्रुव बिक्रम मल्ललाई विशेष अवार्डबाट सम्मान गरिएको छ।
अवार्डको २३ औं संस्करण राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियनमा भएको हो।
अवार्ड २०८२ मा ९ विधामा प्रदान गरियो। यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा चन्द्रबहादुर थापा (बक्सिङ), सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बजाइली मगर (कराते), दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र सद्भाव आचार्य (गल्फ) परेका थिए। वर्ष महिला खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), सानुमाया थिङ (कराते), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), साबित्रा भण्डारी (फुटबल) र सबिना श्रेष्ठ (कराते) रहेका थिए ।
त्यस्तै, वर्ष युवा खेलाडीको प्रतिस्पर्धा अर्पिल राना (बक्सिङ), रेहान जावेद (कराते), मनीषाकुमारी बोहरा (कराते), पुरुषोत्तम सिलवाल (चेस) र रौनक श्रीवास्तव (क्रिकेट) थिए ।
वर्ष प्रशिक्षकमा दीपक महर्जन (बक्सिङ), कुशल श्रेष्ठ (कराते), मण्डेकाजी श्रेष्ठ (कराते), स्टुआर्ट ल (क्रिकेट) र पुरन सिंह खत्री (दृष्टिविहीन महिला क्रिकेट) मनोनयनमा परेका थिए ।
पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा थिए ।