नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेञ्चाइज लिग एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख नगद पुरस्कार पाउने छ।
आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा विजेतालाई २० लाख नगद पुरस्कार प्रदान गर्ने जानकारी गराए।
प्रबन्ध निर्देशक अश्विनले प्रतियोगिताको कुल पुरस्कार ३२ लाख रुपैयाँ रहेको बताउदै बाँकी १२ लाख उपविजेता, विभिन्न ७ विधाका उत्कृष्ट र हरेक खेलको ‘म्यान अफ द म्याच’ को नगद पुरस्कारका लागि विनियोजन गरिएको बताए ।
प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एनभीएलको मस्कट नेपालको राष्ट्रिय चरा डाँफे, थिम सोङ र प्रायोजक पनि सार्वजनिक गरिएको थियो । थिम सोङ अविन शाक्यले कम्पोस गरेका हुन् भने मस्कट रोनिश सुब्बाको डिजाइनमा तयार गरिएको हो ।
कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।
प्रबन्ध निर्देशक अश्विनले अन्य प्रायोजक पनि जोडिने क्रममा रहेको बताउदै सहभागी सबै टिमले उत्कृष्ट घरेलु र विदेशी खेलाडी अनुबन्ध गरेकाले प्रतिस्पर्धा उच्च स्तरको हुने विश्वास व्यक्त गरे ।
एनभीएलका कार्यकारी प्रमुख अधिकृत डा. सन्तोष उपाध्यायले यसै प्रतियोगिताबाट बाढी पीडितको सहयोगार्थ वातारण बनाउन पहल गर्ने बताउदै पहिलो दिनको टिकट विक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए । उनले बाढीका कारण देश संकटमा रहेकाले उद्घाटन कार्यक्रम सामान्य हुने बताए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले केडिया ग्रुपले बाढी पीडितको सहयोगमा देखाएको अग्रसरता प्रशंसनीय भएको बताउदै नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकतर्फ उन्मुख गर्न निजी क्षेत्रको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएलमा ६ टिमको सहभागिता रहने छ । छ टिमले पहिले एक आपसमा सिंगल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा प्रवेश गर्ने छ । लिगमा दोश्रो र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा हुने लागेको एनभीएल भदौ १९ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।