नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार दोश्रो जित दर्ता गरेको छ।
२ खेल खेलेको कर्णालीले खप्तड फाल्कन्सलाई सीधा सेटमा ३–० ले हरायो । कर्णालीले तीनै सेट समान २५–१९ ले जित्यो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ चुनिए ।
पहिलो खेलमा कर्णालीले अन्नपूर्णलाई ३–१ ले पाखा लगाएको थियो । २ खेल नै खेलेको खप्तड लगातार दोश्रो खेलमा चुक्यो । सुरुमा खप्तड सगरमाथा स्म्यासर्ससंग पनि ३–० कै सोझो सेटमा निराश भएको थियो । प्रतियोगिताअन्तर्गत सोमबार मधेश वारियर्स र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीबीच खेल हुनेछ ।
अन्नपूर्ण स्पाइकर किङ्सले आइतबार पहिलो जित हात पारेको छ ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो। अन्नपूर्णले २५–२३, २८–२६ र २५–२३ ले आफ्नो पक्षमा पार्यो ।
दुई खेलमा अन्नपूर्णको पहिलो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले पराजित भएको थियो । दुई खेलनै खेलेको काठमाडौं रेड्सको पहिलो हार हो । आफ्नो पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले हराएको थियो । अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।
पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।