अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार जित हात पारेको छ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित ग¥यो । अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोश्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । काठमाडौं रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए ।
३ खेलमा अन्नपूर्णको दोश्रो जित हो । आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले चुकेको थियो ।
मधेश भने हालसम्म जितविहीन छ । मेधशले पनि ३ खेल खेलिसकेको छ । मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौं रेड्ससंग ३–२ ले पछि परेको थियो ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।
कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।