आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्बिर, भिडिओ, कर्णालीमा उत्पादित सामग्री प्रदर्शनी सुरू गरिएको छ।
शब्द चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली 'कनेक्टिङ कर्णाली' अभियान अन्तर्गत मुगु जिल्लाको प्रदर्शनी सुरू गरिएको हो।
मनघरी फाउण्डेसनको आयोजनामा शनिबारदेखि सुरू भएको प्रदर्शनी सोमबारसम्म जारी रहनेछ।
संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरूलाई शब्द चित्र र भिडिओका साथै कर्णालीमा उत्पादित सामग्रीमार्फत् कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रदर्शनी गरिएको थियो भने साउन महिनामा मुगु जिल्ला प्रदर्शन गरिएको कनेक्टिङ कर्णालाका परिकल्पनाकार एव मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।
आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा तालको सबै मौसमको तस्बिरहरू राखिएको छ। रारा ताललाई हिउँले ढपक्क ढाक्दा र रंगीविरंगी फूलहरूले घेर्दा रारा तालको सुन्दरता मनमोहक देखिएको छ।
प्रदर्शनीमा मुगु जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने गरी २५ वटा तस्बिरका साथै मुगु जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडिओ प्रदर्शनी र उत्पादित सामग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।
अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र नै छ। जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन्। तर तिनीहरूको उचित प्रचार प्रसार हुन सकेको छैन, यही कुरालाई मनन गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष भरतबन्धु थापाले बताए।
प्रदर्शनीमा भरतबन्धु थापाका १४ वटा तस्बिर, टेक शाहीका ९ वटा तस्बिर र कुबेर राज कार्कीका २ वटा तस्बिर रहेको छ। भिडियोहरू मनघरी फाउण्डेसनले तयार गरेको आयोजकले जनाएको छ।
ताल्चा विमानस्थल। यो रारा तालको प्रवेशद्वारका रूपले पनि प्रख्यात छ। यो विमानस्थल २ हजार ७ सय ३५ मिटर उचाइमा छ।
परम्परागत वेशभूषामा सजिएका माथिल्लो भेगका मुगाली युवती।
गान्टेमुला (स्थानीय भाषामा चोतो) बाट असुरो बनाउँदै स्थानीय महिला।
मुगुको मुगुमकार्मारोङ्ग गाउँपालिकाको ठूलो कोइकी पाटन क्षेत्रमा चरिरहेका चौँरीगाईहरू।
साउने संक्रान्तिको साँझ दियालो बाल्दा झिलिमिली देखिएको मुगाली बस्ती।
मुगु जिल्ला सदरमुकाम गमगढीदेखि उत्तर पश्चिममा रहेको चंखेली हिमाल।
माघको महिना हिउँले ढपक्क ढाकेको बेला सूर्योदय हुँदा देखिएको रारा ताल।