प्रदर्शन तयारीमा रहेको फिल्म 'कुमारी' को गीतलाई युट्युबमा १ करोडभन्दा बढीपटक हेरिएको छ।
एक महिनाअघि सार्वजनिक गीत 'डोको बुन्ने निगालो चोयाले' लाई फिल्म रिलिजअघि नै करोड क्लबको सफलता मिलेको हो।
केहर सिंह लिम्बुको स्वर रहेको यो गीत सामाजिक सञ्जालमा निकै चर्चामा छ। टिकटकदेखि रिल्ससम्म यसमाथि लाखौं भिडिओ बनेका छन्।
'डोको बुन्ने' गीतको शब्द सागर लामिछाने मगर र सुमन तामाङको हो भने कम्पोज सुमन तामाङ र केहर लिम्बुले गरेका हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता अभिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारीको नृत्य छ।
दिनेश राउतको निर्देशनमा बनेको 'कुमारी' शुक्रबारदेखि प्रदर्शन तयारीमा छ।