प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ५ बाट गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार नीशा अधिकारीले चुनाव केवल जित-हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेण्डा र विश्वासको अभ्यास पनि भएको बताएकी छन्।
अभिनेत्री नीशाले निर्वाचनमा आफू पराजित भएपछि सामाजिक सञ्जालमा पोस्ट लेख्दै उक्त कुरा बताएकी हुन्। काठमाडौं -५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल ३० हजार ७ सय ३७ मतका साथ निर्वाचित हुँदा नीशाले मात्र ९१ मत प्राप्त गरेकी छन्।
उनले निर्वाचित सस्मितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। 'जनताले दिनुभएको जिम्मेवारी उहाँले काठमाडौं-५ र देशको हितमा प्रयोग गर्नुहुनेछ भन्ने आशा राख्छु,' नीशाले लेखेकी छन्।
चुनावी परिणाम जे भए पनि आफ्नो राजनीतिक प्रतिबद्धता यथावत् रहेको उनले बताएकी छन्। उनले नागरिकसँग प्रत्यक्ष संवाद जारी राख्ने र नीति तथा एजेण्डामा आधारित राजनीतिक अभ्यासलाई निरन्तरता दिने बताएकी छन्। उनी लेख्छिन्, 'चुनावको नतिजा जे भए पनि मेरो प्रतिबद्धता परिवर्तन भएको छैन।'
नीशाले प्रतिनिधिसभाभित्र बलियो प्रतिपक्ष कमजोर हुने सम्भावना देखिएको उल्लेख गर्दै नागरिकको आवाज जोगाउन सडकबाट लोकतान्त्रिक प्रतिपक्षको भूमिका अझ महत्वपूर्ण हुने बताएकी छन्।
उनले चुनावी परिणामले महिलाहरूलाई नेतृत्वमा आउन निरूत्साहित गर्न नहुने बताउँदै भविष्यमा काठमाडौं ५ बाट महिला प्रतिनिधि संसदमा पुग्ने सपना अझै जीवित रहेको उल्लेख गरेकी छन्।
उनले अगाडि लेखेकी छन्, 'काठमाडौं–५ बाट एकदिन महिला प्रतिनिधि संसदमा पुग्ने सपना अझै जीवित छ।’ राजनीति आफ्नो लागि पदको यात्रा नभई सेवा, मूल्य र जिम्मेवारीको यात्रा भएको उनको भनाइ छ। नीशाले लेखेकी छन्, ‘यो यात्रा यहाँ समाप्त भएको छैन, यो त केवल अर्को अध्यायको सुरूआत हो।'
उनले आफूलाई साथ दिने, सुझाव दिने तथा आलोचना गरेर अझ राम्रो बनाउन खोज्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।