वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म 'कमला मिस' को नयाँ गीत सार्वजनिक गरिएको छ।
मंगलबार 'तिमी मेरो संजीवनी' बोलको गीत युट्युबमा रिलिज गरिएको हो।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक 'कोही किन बर्बाद होस्' बाट प्रेरित यस फिल्मको प्रदर्शनअघि निर्माण टिमले गीत सार्वजनिक गरेको हो।
गीतमा युग भुसालको शब्द तथा संगीत छ भने रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ। भिडिओको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्म 'कमला मिस' यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।
फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा लेखेका हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन छ।