भारतीय फिल्म 'पेड्डी' मा अभिनेत्री जाहन्वी कपूरले निभाएको पात्रको प्रस्तुतिलाई लिएर आलोचना भएपछि निर्देशकले माफी मागेका छन्।
बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको 'पेड्डी' मा जाहन्वीले 'अचियम्मा' पात्रको भूमिका निर्वाह गरेकी छन्।
यो पात्रलाई अनुचित ढंगले प्रस्तुति गरिएको भन्दै आलोचना भएपछि निर्देशक बुच्ची बाबु सानाले माफी मागेका हुन्। उनले आपत्तिजनक ठानिएका दृश्यहरू परिमार्जन गर्ने बताएका छन्।
आफ्नो आधिकारिक एक्स खातामार्फत जारी वक्तव्यमा निर्देशकले फिल्म मनोरञ्जन, प्रेरणा र दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने माध्यम भएको उल्लेख गर्दै कसैलाई अपमानित गर्ने उद्देश्य आफूहरूको नरहेको दाबी गरेका छन्।
'मैले सधैं महिलाको सम्मान गरेको छु। कुनै पनि महिला पात्रलाई गलत ढंगले प्रस्तुत गर्ने वा अपमान गर्ने हाम्रो उद्देश्य थिएन। तर फिल्मको कुनै अंशले दर्शकलाई त्यस्तो अनुभूति गराएको छ भने त्यसका लागि हामी हृदयदेखि नै क्षमाप्रार्थी छौं,' उनले भनेका छन्।
जाहन्वीको भूमिकालाई लिएर आफूहरूलाई आएको प्रतिक्रियाको समीक्षा गरेपछि विवादित मानिएका दृश्यहरूमा परिवर्तन गर्ने निर्णय गरिएको पनि उनले बताएका छन्। 'हरेक महिला सम्मान, गरिमा र उचित प्रतिनिधित्वको हकदार हुन्छिन्,' उनले वक्तव्यमा उल्लेख गरेका छन्।
फिल्ममा जाहन्वीको 'अचियम्मा' पात्रलाई कथाको आवश्यकताभन्दा बढी बोल्ड रूपमा प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त पात्रलाई दर्शक आकर्षित गर्ने उद्देश्यले अनावश्यक रूपमा चित्रण गरिएको टिप्पणी गरेका थिए।
स्पोर्टस ड्रामा विधामा बनेको 'पेड्डी' मा राम चरण र जाहन्वी कपूर मुख्य भूमिकामा छन्। साथमा शिव राजकुमार, दिव्येन्दु, जगपति बाबुलगायतको अभिनय छ।
फिल्मले दुई दिनमै विश्वव्यापी रूपमा १५० करोड ४९ लाख भारतीय रुपैयाँ कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
'पेड्डी' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।