दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म 'जेलर २' को प्रदर्शन मिति घोषणा भएको छ।
निर्माण कम्पनी सन पिक्चर्सले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फिल्म आगामी अक्टोबर १५ (असोज २९) मा विश्वभर प्रदर्शन हुने भएको छ।
नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको 'जेलर २' सन् २०२३ को ब्लकबस्टर फिल्म 'जेलर'को सिक्वेल हो। पहिलो फिल्मले विश्वभर ६०४.५० करोड भारूभन्दा बढी कमाउँदै ठूलो सफलता हासिल गरेको थियो।
'जेलर २'मा रजनीकान्तसँगै शिव राजकुमार, मोहनलाल, एस.जे. सूर्या, मिथुन चक्रवर्ती, योगी बाबु, राम्या कृष्णन र मिर्ना मेननको अभिनय छ। अर्को प्रमुख आकर्षण विद्या बालन हुन्, जसले 'जेलर २' बाट तमिल फिल्ममा डेब्यू गर्नेछिन्।
अभिनेता ऋतिक रोशन पनि फिल्ममा विशेष भूमिकामा देखिने बताइएको छ। उनी रजनीकान्तको पात्रलाई संकटको समयमा सहयोग गर्ने साथीको भूमिकामा रहने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मुख्य छायांकन सकिए पनि निर्माण टोलीले केही अतिरिक्त दृश्य छायांकन गरेर फिल्मको अन्तिम तयारी गरिरहेको छ।