दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको प्रतीक्षित फिल्म 'जेलर २' प्रदर्शनअघि नै चर्चामा छ। यसैबीच फिल्मको ओटिटी अधिकार महंगो मूल्यमा बिक्री भएको दाबी गरिएको छ। उक्त डिलसँगै फिल्मले थलापति विजयको ‘लियो’को रेकर्डसमेत तोडेको बताइएको छ।
बलिउड हंगामाको रिपोर्टअनुसार, नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको ‘जेलर २’को स्ट्रिमिङ अधिकार १६० करोड भारूमा बिक्री भएको हो।
रिपोर्टका अनुसार यो तमिल फिल्म उद्योगको अहिलेसम्मको सबभन्दा ठूलो गैर-थिएट्रिकल डिल हो। यसअघि थलपति विजयको फिल्म 'लियो'को ओटीटी अधिकार २०२३ मा १२० करोड भारूमा बिक्री भएको थियो।
फिल्मको अधिकार खरिद गर्ने ओटीटी प्लेटफर्मको नाम भने सार्वजनिक गरिएको छैन।
'जेलर २' मा रजनीकान्त पुनः मुथुवेल पण्डियनको भूमिकामा देखिँदैछन्। फिल्ममा राम्या कृष्णन, योगी बाबु, मिर्ना र ऋत्विकले पनि अघिल्लो फिल्मकै भूमिकालाई निरन्तरता दिनेछन्। एस.जे. सूर्या, मिथुन चक्रवर्ती, विद्या बालनलगायत कलाकार ‘जेलर २’मा जोडिएका छन्।
फिल्ममा मोहनलाल, शिवराजकुमार, ज्याकी श्राफ र विजय सेतुपतिसहित केही चर्चित कलाकारहरूको क्यामियो रहेको चर्चा पनि छ।
सन् २०२३ मा रिलिज भएको 'जेलर' ठूलो सफल फिल्म बनेको थियो। ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार, यसले भारतमा ३४८.५५ करोड र विश्वभर ६०४.५० करोड भारू कमाएको थियो।
अब यसको सिक्वेल १५ अक्टोबर २०२६ (असोज २९) देखि विश्वव्यापी रिलिज हुँदैछ। फिल्मको बजेट करिब २५० देखि ३५० करोड भारू रहेको बताइएको छ।