दक्षिण भारतीय सुपरस्टार रजनीकान्त स्टारर फिल्म 'जेलर २'को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको सार्वजनिक ट्रेलरमा रजनीकान्त पुनः 'टाइगर' मुथुवेल पाण्डियनको भूमिकामा देखिएका छन्।
उनलाई एकातिर सामान्य जीवन बिताइरहेको पात्रका रूपमा देखाइएको छ भने अर्कोतिर आपराधिक संसारसँग जोडिएको खतरनाक पात्रका रूपमा प्रस्तुत गरिएको छ। उनको विगत र वर्तमानबीचको द्वन्द्वसँगै फिल्ममा ठूलो आपराधिक सञ्जालसँगको भिडन्तलाई मुख्य विषय बनाइएको ट्रेलरले संकेत गर्छ।
ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ।
सन् २०२३ मा प्रदर्शन भएको 'जेलर'ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको थियो। त्यसैले पनि यसको दोस्रो भागलाई लिएर दर्शकमाझ उत्सुकता थियो। दोस्रो भागमा पहिलो फिल्मभन्दा ठूलो कथा र अझ भव्य एक्सन प्रस्तुत गर्ने प्रयास गरिएको ट्रेलरबाट देखिन्छ।
यो फिल्म नेल्सन दिलीपकुमारको लेखन तथा निर्देशनमा बनेको हो।
फिल्ममा रजनीकान्तसँगै मोहनलाल, शिवराजकुमार, एसजे सूर्याह, विद्या बालन, मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय छ।
'जेलर २' अक्टोबर १५ (असोज २९)देखि विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।