भारतीय अभिनेता नाना पाटेकरको निधनमा अभिनेत्री मनिषा कोइरालाले भावुक श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
नाना पाटेकरको बिहीबार भएको निधनपछि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै मनिषाले उनलाई 'महान् अभिनेता' तथा अभिनयका क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा स्मरण गरेकी छन्।
उनले लेखेकी छन्, 'एक महान् अभिनेता र अभिनयको क्षेत्रमा सच्चा दिग्गजको निधनले म अत्यन्त दुःखी छु। चलचित्र क्षेत्रमा उहाँको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैं स्मरणीय रहनेछ। उहाँको आत्माले शान्ति पाओस्। ओम शान्ति।'
मनिषा र नाना पाटेकरबीच व्यावसायिक रूपमा पनि सहकार्य थियो। यी दुईले सन् १९९६ मा प्रदर्शनमा आएको फिल्म 'खामोशीः द म्युजिकल' र 'अग्नि साक्षी'मा सँगै काम गरेका थिए। त्यसपछि सन् १९९८ मा आएको 'युगपुरूष'मा पनि उनीहरूले सहकार्य गरेका थिए।
नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो। गोवास्थित निवासमा अचेत अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकको प्रयास सफल हुन सकेन। उनको निधन हृदयाघातका कारण भएको बताइएको छ।
पाँच दशकभन्दा लामो अभिनय यात्रामा पाटेकरले हिन्दी तथा मराठी फिल्ममा प्रभावशाली अभिनय गरेका थिए।