गायक प्रकाश सपूतको 'भाका नेपाल', प्रमोद खरेलको 'प्रमोद एन्ड परम्परा' र देबेन्द्र बब्लुको 'फिरन्ते' ब्याण्डले अब एकसाथ सांगीतिक टुर गर्ने भएका छन्।
'सुरताल म्युजिकल टुर २०८३' नाम दिइएको यो सांगीतिक यात्रा असोज १० गते धनकुटाको हिलेबाट सुरू हुँदैछ।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुने टुरमा तीनै टोलीले आफ्ना चर्चित तथा नयाँ गीतसहित लाइभ प्रस्तुति दिनेछन्। परम्परागत कन्सर्टभन्दा फरक र स्मरणीय अनुभव दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले जनाएको छ।
टुरमा प्रकाश सपुत यसपटक ट्रयाकमा मात्रै नभई 'भाका नेपाल' ब्याण्डसहित लाइभ प्रस्तुतिमा देखिनेछन्। उनका चर्चित तथा सन्देशमूलक गीतसँगै 'प्रमोद र परम्परा ब्याण्ड' तथा 'फिरन्ते ब्याण्ड'को ऊर्जावान् प्रस्तुति पनि कार्यक्रमको मुख्य आकर्षण हुनेछ।
कार्यक्रमलाई थप भव्य बनाउन अत्याधुनिक साउन्ड सिस्टम, लाइटिङ, लाइभ इन्स्ट्रमेन्टसँगै गीतको भावअनुसार कोरस डान्स र मञ्चीय प्रस्तुतिसमेत संयोजन गरिने आयोजकले जनाएको छ। कार्यक्रम निशा पन्थीले सञ्चालन गर्नेछिन्।
संगीत र मनोरञ्जनसँगै यो टुरलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। कार्यक्रमको खर्च कटाएर बाँकी आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रदान गरिने आयोजकले जनाएको छ।
यसअघि पोखराबाट टुर सुरू गर्ने तयारी गरिएको थियो। तर बाढीका कारण उत्पन्न परिस्थितिका कारण पोखरा र धरानका कार्यक्रम हाललाई स्थगित गरेर हिलेबाट यात्रा सुरू गर्न लागिएको सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिका अध्यक्ष प्रशान्त सुनारले बताए।
'यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना-काप्चासम्म पुर्याउने साझा संकल्प हो,' सुनारले भने।
टुरको पहिलो चरण असोज १० गते धनकुटाको हिलेबाट सुरू हुनेछ। त्यसपछि असोज १४ गते तेह्रथुम, १७ गते खाँदबारी र १९ गते बर्दिबासमा कार्यक्रम हुनेछ।
दोस्रो चरण मंसिर २ गते महेन्द्रनगरबाट सुरू हुनेछ। मंसिर ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा कार्यक्रम आयोजना हुनेछ।
त्यसपछि पोखरा र धरानमा कार्यक्रम आयोजना गरेर टुर समापन गरिने आयोजकले जनाएको छ।
देशका विभिन्न भूगोल र दर्शकमाझ नेपाली संगीतका मौलिक सुर र ताल पस्कन तीनै सांगीतिक टोली तयारीमा जुटिसकेका छन्। प्रकाश सपुतको 'भाका नेपाल'को लिड भोकलमा प्रकाश सपुत, 'प्रमोद एन्ड परम्परा'को लिड भोकलमा प्रमोद खरेल र 'फिरन्ते ब्याण्ड'को लिड भोकलमा देवेन्द्र बब्लु छन्।