बेलायतमा रहेका संयुक्त श्रेष्ठले गत शुक्रबार नेपाल र नेपालीलाई बधाइ दिँदै सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गरे।
त्यो पोस्टमा गुगल ट्रान्सलेटमार्फत् नेपाल भाषाको वाक्यलाई नेपालीमा अनुवाद गरिएको थियो।
उनले नेपाल भाषामा 'जितः नेपाल भाषा याः' लेखेका थिए, जसलाई गुगलले 'मलाई नेपाल भाषा मनपर्छ' भनेर अनुवाद गरेको थियो।
बेलायतमा गेम डेभलपरका रूपमा कार्यरत संयुक्त करिब तीन वर्षदेखि गुगल ट्रान्सलेटमा नेपाल भाषा समावेश गराउन अहोरात्र खटिएका थिए। उनको प्रयास त्यस दिन सफल भएको थियो।
संयुक्तलाई धेरैले बधाइ दिए। कतिले गुगल ट्रान्सलेटमा गएर अंग्रेजी वा नेपालीलाई नेपाल भाषामा अनुवाद गरे। कतिले आफ्नो भाषामा अनुवाद गर्न पाएको खुसी गुगलबाटै अनुवाद गराएर यसरी व्यक्त गरे —
गर्वया क्षण। जिं थन थःगु हे भासं च्वयेफु। (गर्वको क्षण। आफ्नो भाषामा लेख्न पाउँदा खुसी लाग्यो।)
संयुक्तले फेसबुक पोस्ट गरेको केही क्षणमै हजारौंले आफ्नो भनाइ नेपाल भाषामा अनुवाद गराए। अनुवाद ९० प्रतिशतभन्दा बढी शुद्ध थियो। यो गुगल अनुवादलाई नेपाल भाषा बोल्ने नेवारहरूले त प्रसन्नतापूर्वक स्वागत गरे नै, गैरनेवारहरूले पनि मजा मानेर यसको स्वाद चाखे। क्षणभरमै फेसबुकको होमपेज नेपाल भाषाका पोस्टहरूले भरियो। त्यो क्रम अहिले पनि जारी छ।
अब हामी गुगल ट्रान्सलेटमा गएर नेपाली, अंग्रेजी, हिन्दी लगायत विभिन्न भाषालाई सजिलै नेपाल भाषामा अनुवाद गर्न सक्छौं। नेपाल भाषाका शब्दलाई अन्य भाषामा पनि सजिलै अनुवाद गर्न सक्छौं।
यो काम फत्ते गर्न संयुक्त र उनका साथीहरूलाई त्यति सजिलो भने भएन।
यसको सुरूआत सन् २०२० मा भएको थियो।
त्यति बेला आयरल्यान्ड बस्दै आएका दीपेश शाक्यको नेतृत्वमा अनलाइन नेपाल भाषा शब्दकोष तयार भएको थियो। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले २०२० डिसेम्बर ५ मा शब्दकोष लोकार्पण गरेका थिए। उक्त कार्यक्रममा गुगलका नेपाली इञ्जिनियर उज्ज्वल राजभण्डारी पनि सहभागी थिए।
लोकप्रिय कथाकार विजय मल्लका नाति उज्ज्वल राजभण्डारीले आफूलाई नेपाल भाषा बोल्न नआए पनि मातृभाषाप्रति माया भएको र आफ्नो प्राविधिक सीपले भ्याएसम्म नेपाल भाषालाई गुगलबाट अनुवाद गराउन पहल गर्ने इच्छा व्यक्त गरे।
उनको यो इच्छा र प्रस्तावलाई विश्व नेवा: संगठनले सहर्ष स्वागत गर्यो।
सन् २०११ मा स्थापना भएको विश्व नेवाः संगठन आफ्नो समूह विस्तार गर्ने क्रममा थियो। नेपाल भाषा अनुवादको प्रस्ताव आएपछि संगठनले छुट्टै कार्यदल गठन गर्यो। कार्यदलमा इञ्जिनियर राजभण्डारीसहित बेलायतमा रहेका संयुक्त श्रेष्ठ, अमेरिकाबाट दया शाक्य र डा. सुभाष प्रजापति, नेदरल्यान्ड्सबाट डा. बालगोपाल श्रेष्ठ जोडिए। पछि अमेरिका बस्दै आएका सिजन श्रेष्ठ पनि कार्यदलमा थपिए।
'हाम्रो पहिलो चरणको उद्देश्य नेपाल भाषामा प्रकाशित सामग्रीहरू बढीभन्दा बढी संकलन गर्नु थियो,' बेलायतबाट ह्वाट्सएपमा कुरा गर्दै संयुक्तले भने, 'त्यसमा ईलोहं प्रकाशन र झीगु स्वनिगः दैनिकले उल्लेखनीय योगदान पुर्याए। भौतिक रूपमा प्रकाशित किताबहरू स्क्यान गरेर डिजिटाइजेसन गर्न केन्द्रीय नेपाल भाषा विभागका उपप्राध्यापक रवि शाक्यले सहयोग गरे।'
यो चरणमा कार्यदलले विभिन्न खालका फाइल र टाइपसेटिङका चुनौती इञ्जिनियर राजभण्डारीसँगको सहकार्यमा पार लगायो। यसबाट गुगल सर्च इञ्जिनलाई इन्टरनेटमा भेटिने हजारौं भाषामध्ये नेपाल भाषालाई छुट्टै भाषाका रूपमा चिनाउन उनीहरू धेरै हदसम्म सफल भए।
'त्यो हाम्रो ७५ प्रतिशत सफलता थियो,' संयुक्तले भने, 'अन्य भाषाको तुलनामा यो उपलब्धि निकै उत्साहजनक भएको गुगलले पुष्टि गर्यो।'
संयुक्त श्रेष्ठ
दोस्रो चरणमा उनीहरूले नेपाल भाषाबाट अन्य भाषामा अनुदित सामग्रीहरू संकलन गर्न थाले।
यस क्रममा गुगल इञ्जिनियर राजभण्डारीले उनीहरूलाई सुझाव दिँदै भने, 'कुनै पनि भाषाको अंग्रेजी अनुवाद हुने भयो भने त्यसलाई गुगल प्रणालीमा राख्न सजिलो हुन्छ। किनभने, गुगलको एआई प्रणालीले भाषाहरू पहिले अंग्रेजीमै बुझ्छ, अनि त्यसलाई सम्बन्धित भाषामा उल्था गर्छ।'
नेवाः संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि काम गर्दै आएको अमेरिकाको नेवाः अर्गनाइजेसन अफ अमेरिका र बेलायतको पासा पुचः गुथिले गएका दुई दशकमा प्रकाशित विज्ञप्ति र समाचार अंग्रेजीमा उल्था गर्दै आएका थिए। ती सामग्री पनि यहाँ काम लाग्यो। नेपाल भाषाका फिल्म संवादको अंग्रेजी सबटाइटल पनि उपयोगी भयो। विभिन्न लेखक तथा साहित्यकारले नेपाल भाषामा प्रकाशित आफ्ना पुस्तकहरू पनि दिए।
यति तयारी गरेपछि सन् २०२१ जनवरी १९ मा विश्व नेवाः संगठन तर्फबाट संयुक्तले गुगलसँग सम्झौतापत्र हस्ताक्षर गरे।
सम्झौताअनुसार गुगलले १२ सय अंग्रेजी वाक्यलाई नेपाल भाषामा अनुवाद गर्न भनेको थियो। ती वाक्य सामान्य बोलीचालीमा प्रयोग हुने मात्र नभई प्राविधिक र वैज्ञानिक पनि थिए। समाजशास्त्र र राजनीतिदेखि ज्यामितीय गणित र भौतिकशास्त्र जस्ता प्राज्ञिक विषयका वाक्य पनि परेका थिए।
'एउटा वाक्यको अर्को वाक्यसँग कुनै सम्बन्ध नहुँदा सन्दर्भ परिवर्तन हुन्थ्यो,' संयुक्तले भने, 'एकाध घन्टा घोत्लिँदा पनि हामीलाई १० वटा वाक्य अनुवाद गर्न हम्मे पर्थ्यो।'
अनुवादमा धेरै समय लागेपछि यो काम एक्लै गर्न सकिँदैन भन्ने संयुक्तले बुझे।
उनले नेपाल भाषा शब्दकोष वेबसाइटमा काम गरिरहेका सुभाष प्रजापतिसँग सहयोग मागे। उनीहरूले काम आधा आधा बाँडे। तर महिनादिन बितिसक्दा पनि काम सकिएन।
दुई जनालाई पनि काम सक्न गाह्रो भएपछि उनीहरूले संयुक्त अधिराज्यकै वेल्स बस्दै आएका कृष्ण चंखु र नेदरल्यान्ड्सका बालगोपाल श्रेष्ठको सहायता मागे।
यी सबैको प्रयासबाट मार्च मध्यतिर बल्ल उनीहरूले सम्झौताअनुसारको परिणाम गुगललाई बुझाए।
त्यो परिणाम देखेर गुगलका इञ्जिनियर इसाक कास्वेलले खुसी हुँदै भने, 'दिस इज वन्डरफुल, थ्यांक यू।'
यसरी १२ सय वाक्य गुगललाई बुझाएपछि अप्रिलतिर गुगल ट्रान्सलेटमा नेपाल भाषा सूचीकृत भयो।
भाषा सूचीकृत त भयो, तर सबभन्दा महत्त्वपूर्ण काम बाँकी नै थियो।
माथिका तीन चरण पूरा भएपछि गुगलले जति सकिन्छ उति वाक्य भित्र्याउन अनुवादको ढोका खोलिदिएको थियो। त्यसपछि त चुनौती झनै थपियो। लाखौं शब्द र वाक्यहरूको निम्ति नेपाल भाषाको ठेट शब्द र ठेट वाक्य चाहिने भयो। विश्व नेवाः संगठनको कार्यदललाई मात्र यो काम फत्ते गर्न सम्भव थिएन।
उनीहरूले सोचे — यहाँबाट अगाडिको काम गर्न हामीलाई समुदाय स्तरकै सहयोग चाहिन्छ।
यसका लागि उनीहरूले जुम मिटिङ सुरू गरे र आफ्नो कुराकानी फेसबुकमा लाइभ गर्न थाले। त्यो देखेर नेपाल लगायत विभिन्न मुलुकमा रहेका नेवारहरू, खासगरी अवकाशप्राप्त व्यक्तिहरू भाषा अन्तर्क्रियामा जोडिन पुगे।
'छलफलमा सहभागी हुन नेपाल भाषा लेख्न आउनैपर्छ भन्ने थिएन। बोल्न आउने वा बोलेको बुझ्ने भए पनि पुग्थ्यो। कतिपय व्यक्ति निरन्तर छलफलमा आउन थाल्नुभयो। उहाँहरूमध्ये एक जनाको नेतृत्वमा हामीले समूह बनाइदियौं। उहाँहरूले दैनिक छलफल गर्दै गुगलमा नयाँ नयाँ वाक्य राख्न थाल्नुभयो,' संयुक्तले भने, 'फेसबुक लाइभ हुने भएकाले कतिपयले नमिलेका कुराहरू कमेन्टमा लेखेर यस्तो–यस्तो हो भनेर सच्याइदिन्थे।'
जुम मिटिङ र फेसबुक लाइभ हरेक साँझ नेपाली समयअनुसार राति साढे ७ देखि ९ बजेसम्म हुन्थ्यो। यसमा विभिन्न देशमा बस्ने नेवारहरू जोडिएका थिए। बिस्तारै नेपाल भाषा नबुझ्नेहरू पनि छलफलबाट सिक्न भनेर जुम मिटिङ र फेसबुक लाइभमा आउन थाले। छलफलले नेपाल भाषा सिक्ने र गुगल अनुवादमा रहेका त्रुटि सच्याउने राम्रो अभ्यासको रूप लियो।
यसबीच गुगलले विश्व नेवाः संगठनको टोलीलाई बारम्बार सचेत गराइराख्थ्यो, 'तिमीहरूको काम एकदम ढिला भयो। यस्तो पाराले त तिमीहरूले १०–१२ वर्षमा पनि सक्दैनौ होला!'
हतार गुगललाई मात्र थिएन। फेसबुक लाइभमा हरेक दिन आउने व्यक्तिहरूलाई पनि नेपाल भाषाको गुगल ट्रान्सलेट हेर्ने हुटहुटी थियो।
तीमध्ये पाका उमेरका व्यक्तिहरू भनिरहन्थे, 'हामी त बूढाबूढी भइसक्यौं। यो काम कहिले सकिन्छ होला नि! हामीले त आफ्नो जीवनमा देख्न पाउँदैनौं कि!'
यस्तो मानसिक र भावनात्मक दबाबबीच विश्व नेवाः संगठनले अमेरिकाको न्यूयोर्कमा अर्को जुम टोली बनायो। उनीहरूले नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल भाषा केन्द्रीय विभागसँग सहयोगको अपिल गरे। उनीहरूले पनि बेग्लै समूह बनाएर काम गर्न थाले।
यसबाहेक मिसाः साहित्य पुचःको अर्को समूह बन्यो। नेपाल भाषामा लेख्ने महिला साहित्यकारहरूको उक्त टोलीसहित चारवटा टोलीले गुगल अनुवादलाई परिस्कृत तुल्याउन सँगसँगै काम थाले।
'गुगलले एउटा वाक्य दिन्थ्यो, त्यसलाई नेपाल भाषामा अनुवाद गराएर हाल्ने काम यी विभिन्न टोलीले गर्थे,' संयुक्तले भने।

सुरूआतमा एउटा मात्र टोली हुँदा सन् २०२१ जुन महिनासम्म १० हजार वाक्य अनुवाद गरिएको थियो। टोली बढेसँगै काम बढ्दै गयो।
सन् २०२४ फेब्रुअरीसम्म आइपुग्दा उनीहरूले पाँच लाख वाक्य अनुवाद गरिसकेका थिए। अप्रिल महिनासम्म त गुगलले नै वाक्यहरू पुगेको सूचना दिँदै अनुवाद गर्ने बाटो बन्द गरिदियो र भन्यो, 'अब परीक्षणमा जाऔं।'
गुगलले परीक्षणमा जाऔं भनेको करिब तीन महिनापछि अर्थात् जुन २८ मा गुगलको नेपाल भाषा अनुवाद औपचारिक रूपमा सुरू भयो।
'नेपाल भाषाको विस्तार र अन्तर्राष्ट्रियकरणमा यो एक महत्त्वपूर्ण फड्को हो,' संयुक्तले भने, 'यसले अनुवादको काममा सुरूदेखि तल्लीन हाम्रो समूहका सदस्यहरूमा खुसीको सञ्चार भएको थियो।'
लामो समय सँगै काम गरेका समूहका सदस्यहरूले त्यो दिन केही खल्लो पनि माने।
'जुम मिटिङमा आउनेहरूलाई त त्यो दिनबाट आफ्नो हातखुट्टा भाँच्चिएजस्तै भयो। हरेक दिन मिटिङमा बसेको हिसाब गर्दा उहाँहरूले हजार दिनभन्दा बढी एकअर्कासँग कुरा गर्दै, अनुवाद गर्दै मिलेर काम गर्नुभएको थियो। एक किसिमले भन्दा परिवारजस्तै भइसक्नुभएको थियो। काम सकिएपछि त उहाँहरूलाई आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा नै छुटेजस्तो भएछ। रूँला रूँलाजस्तो पो गर्नुभयो,' संयुक्तले भने, 'मैले रिटायरमेन्ट प्लानको महत्त्व त्यति बेला बुझेँ। त्यो दृष्टिबाट हामीले सोचेकै रहेनछौं भन्ने लाग्यो।'
'यो खुसीको घडी हो नि, अब त हामीले मिहिनेतको फल चाख्ने बेला हो भनेर उहाँहरूलाई सम्झाउनुपर्ने भयो,' उनले अगाडि भने।
संयुक्तलाई गत शुक्रबार गुगलले नेपाल भाषामा अनुवाद गर्न मिल्ने खबर दिएको थियो। उनले सबभन्दा पहिला आफै परीक्षण गरेर हेरे। त्यसपछि यो अभियानमा संलग्न सबैलाई सूचना दिँदै परीक्षण गर्न लगाए।
बेलायतमै रहेर अनुवादको काम गरेका लोचन मानन्धरको प्रतिक्रिया सुनाउँदै संयुक्तले भने, 'उहाँ खबर सुनेर यस्तो भावुक हुनुभयो, सुरूमा त केही बेर बोल्नै सक्नुभएन। मनको भावना पोख्न बोल्नुपर्दैन रहेछ भन्ने मैले त्यस बेला बुझेँ।'
उनी यो कामलाई 'नेपाली जनताको सामूहिक प्रयासको प्रतिफल' मान्छन्। हुन पनि कुनै समय गुगलले १०–१२ वर्षमा पनि सक्दैनौ होला भनेर चुनौती दिएको कामलाई विश्वभर छरिएर रहेका नेवारहरू मिलेर तीन वर्षमै फत्ते गरेका थिए। परिणाम राम्रै आएकाले अनुवादको आलोचना कमै सुनिन्छ। सबभन्दा बढी आलोचना गुगल ट्रान्सलेटमा नेपाल भाषाको कोष्ठकमा नेवारी भनेर आएकोमा छ।
'लामो समयदेखि नेवारी होइन नेपाल भाषा हो भनेर वकालत गर्दै आएको समुदायलाई यो कुरा चित्त बुझेन। उनीहरूले विरोध जनाए,' संयुक्तले भने, 'तर हामीले जानीबुझी नेवारी भाषा भनेका थिएनौं।'
'यो हामीले वा गुगलले राखेको होइन। भाषाको आइएसओ मानकीकरण गर्दा नै सूचीमा नेपाल भाषा र कोष्ठकमा नेवारी छ। यदि हामीले गुगल ट्रान्सलेटमा परिवर्तन गर्नुछ भने सुरूमा त्यही सच्याउनुपर्छ। हामीले जति कराए पनि केही हुनेवाला छैन,' उनले भने, 'अहिले यो विषयमा लडाइँ गर्नुभन्दा खुसी मनाउने समय हो भन्ने मलाई लाग्छ।'
कतिपय व्यक्तिले आफ्नै प्रचलित लिपि प्रयोग गर्नुपर्छ भन्ने माग पनि राखेका थिए। संयुक्त भने अहिले देवनागरी प्रयोग गरेपछि बिस्तारै अन्य लिपिमा ल्याउन गाह्रो नहुने बताउँछन्।
'हामीले अहिले नै प्रचलित लिपिमा काम गरेको भए त्यो लिपि जानेका पाँच जना पनि फेला पार्न गाह्रो हुन्थ्यो होला,' उनले भने, 'देवनागरीमै गर्दा त मान्छे जुटाउन गाह्रो भएको थियो!'
अर्को समस्या भनेको नेपाल भाषाका लवज ठाउँअनुसार फरक छन्। काठमाडौं उपत्यकामा नेपाल भाषाका कृतिहरू धेरै भएको र राज्य नीतिसँग प्रत्यक्ष जोडिएकाले उनीहरूले तत्काललाई यहीँको भाषालाई प्राथमिकता दिएका छन्। अन्य ठाउँका लवज पनि बिस्तारै समावेश गर्दै जाने उनको सोच छ।
'हाम्रो काममा विरोध हुनु भनेको धेरै मानिसहरूले आफ्नो भाषाप्रति देखाएको माया हो। हामीलाई सुरूमै थाहा थियो, सबैलाई खुसी बनाउन गाह्रो छ। तर एक कदम अगाडि जान तीन कदम पछाडि हट्नुपर्छ भने पनि किन नजाने त भनेर हामी तयार थियौं,' संयुक्तले भने।
अब हामी गुगल ट्रान्सलेटमा दर्ज भइसकेको नेपाल भाषाले कसरी काम गर्छ भन्ने कुरा गरौं।
गुगल ट्रान्सलेट भनेको एआई मोडल हो। यसलाई संयुक्त तथ्यांक राक्षसका रूपमा वर्णन गर्छन्।
'हामी राजनीतिक, तार्किक र ऐतिहासिक रूपमा ठीक हुन खोजौंला, तर यो त मेसिन हो, यसलाई सिकाउनुपर्छ। हामीले जति नै सिकाए पनि यसले सिक्ने भनेको ०.५ प्रतिशत मात्र हो। हामीले दिएको जानकारीलाई यसले राक्षसले जसरी निल्छ,' संयुक्तले भने, 'यसलाई ठीक अनुवाद गराउन हामीले जति धेरै सन्दर्भ दिनसक्यो, त्यति राम्रो हो। कुनै पनि शब्दको धेरै अर्थ हुनसक्छ, सन्दर्भ भन्यो भने यसले बुझ्छ। अनि लगभग शतप्रतिशत सही अनुवाद गर्छ।'
उनले अगाडि भने, 'बच्चाले पनि सुरूमा बिस्तारै सिक्छ। सिक्ने क्रममा गल्ती पनि गर्छ। यसले पनि बिस्तारै सिक्ने हो। यसलाई राम्रो बनाउन हामीले धेरैभन्दा धेरै प्रयोग गर्दै जानुपर्छ।'
गुगल ट्रान्सलेटको अनुवाद भरपर्दो बनाउँदै लैजान मानिसको प्रत्यक्ष हस्तक्षेपले पनि सहयोग गर्ने संयुक्त बताउँछन्। जस्तो — कुनै अनुवाद मिल्यो भने हातको बूढी औंलाको चिह्न भएको 'थम्स अप' थिच्ने र गलत भए 'थम्स डाउन' चिह्न थिच्ने।
'गुगल ट्रान्सलेट अहिले काँटछाँट गर्दै सुधारको चरणमा छ। यसलाई हाम्रो प्रतिक्रियाले सहयोग गर्न सक्छ,' संयुक्तले भने।
हामी कुनै फोटो, शब्द वा आवाजलाई पनि गुगल ट्रान्सलेटको माध्यमबाट अनुवाद गर्न सक्छौं। यसको सम्भावना अनन्त र कल्पनाबाहिरको छ। यसमा कुनै साइटलाई 'प्लग इन' गरियो भने पूरै साइटमा भएका सामग्री अनुवाद गरेर पढ्न मिल्छ। कतिपय मोबाइल वा ल्यापटपमा भने अझै नेपाल भाषामा अनुवाद गर्ने विकल्प आएको छैन। बिस्तारै गुगलले त्यसमा काम गर्दै जानेमा संयुक्त आशावादी छन्।
कुनै समय काठमाडौं उपत्यकाका बहुसंख्यकले बोल्ने नेपाल भाषालाई अहिले युनेस्कोले लोपोन्मुख भाषामा सूचीकृत गरेको छ। यस्ता लोपोन्मुख भाषा नेपालमा धेरै छन्। उनीहरूले पनि गुगल ट्रान्सलेटमा आफ्नो भाषा समावेश गर्ने हो भने भाषा नजान्नेहरूले पनि सिक्ने अवसर पाउने संयुक्त बताउँछन्।
'हामी अल्पसंख्यक समुदायले अर्को अल्पसंख्यकलाई सँगै लिएर हिँड्नुपर्छ। एकअर्काबाट सिक्दै, सिकाउँदै अघि बढ्नुपर्छ। हामी एक जना मात्र अगाडि बढ्छु भनेर कतै पुगिन्न। हाम्रो यो प्रयास धेरैलाई प्रेरणा बन्छ होला,' उनले भने, 'हामीले हाम्रो अनुभव हामीमै सीमित राख्नुहुन्न। जसले सहयोगको अपेक्षा राख्नुहुन्छ, हामी जुनसुकै हिसाबले सहयोग गर्न तयार छौं।'
***