गएको महिना भिनाजुलाई अचानक कोखो दुख्ने समस्या भयो। सामान्य दुखाइ होला भनेर सुरूमा त्यति ठूलो कुरा ठानिएन। तर दुखाइ बढ्दै गएपछि अस्पताल लगियो। तीन चार दिनको जाँचपछि एपेन्डिस होला भन्ने अनुमान गरिए पनि अन्ततः डाक्टरले जनैखटिरा आएको घोषणा गरे। केही औषधि दिएर घर पठाइदिए। औषधि सुरू भयो। उपचार चल्यो। तर दुखाइले भने साथ छोडेको थिएन।
दिन बित्दै गए। १५ दिन घरमै बस्दा पनि उहाँको दुखाइ हटिसकेको थिएन। बिरामी मान्छलाई सुत्दासुत्दै दिक्क लाग्यो घुम्न जाऊँ भन्दै हामीलाई बिरामी बनाउन लाग्नु भो। अस्ति भर्खर मर्दी गएर आएको फेरि केही अक्कमक्क थिए। तर पनि।
बिरामी मान्छेलाई लिएर कहाँ जाने? धेरै हिँड्न नपर्ने, धेरै गर्मी नहुने, पहिले नगएको र प्रकृतिसँग नजिक हुने ठाउँ चाहियो। प्रकृति प्रेमी जो छु। गन्तव्य खोज्दै जाँदा ढोरपाटनतिर जाने कुरा निस्कियो। सररर गाडीमा जाने, गाडीमा आउने। हाम्रो यात्रा योजना बनाउने तरिका पनि रमाइलो छ। धेरै दिनअघि देखि तयारी गरेर, मौसम हेरेर, नक्सा हेरेर, होटल बुक गरेर जाने भन्दा कहिलेकाहीँ एकै रातमा योजना बन्छ। यसपटक पनि त्यस्तै भयो।
-1786172457.jpg)
-1786172456.jpg)
गाडीको कुरा भयो। झोला पोका तयार पारियो। बिहान ४ बजे चाउथे निवासबाट हामी पश्चिम लाग्यौँ, टोली पनि सानो थिएन। म, श्रीमती लक्ष्मी, भिनाजु रूद्र, दिदी सम्झना, भान्जा अंकित, भान्जी अंकिता, सालोभाइ सन्दिप र बुहारी एलिसा।
बिहानको ४ बजेको पोखरा अझै निदाइरहेको थियो। सडकमा मानिसहरूको चहलपहल थिएन। पसलका सटर बन्द थिए। सडक बत्तीको उज्यालोमा गाडी अगाडि बढिरहेको थियो। हामी भने निद्रा र उत्साहको बीचमा थियौँ। सेती पुल पार गर्यौँ। पहिलेझैँ विद्यावासिनीलाई दाहिने पार्दै हेम्जा, नौडाँडा हुँदै अगाडि बढ्यौँ। केही समयपछि बिहानको उज्यालो विस्तारै पहाडका टुप्पामा देखिन थाल्यो। काली पुल आयो। मालढुङ्गा पार गर्यौँ। हल्का उकालो सुरू भयो। बाटैबाट बागलुङ कालिकाको दर्शन भयो। सहर बिस्तारै पछाडि छुट्दै थियो। बाटो वरिपरि घरहरू पातलिँदै थिए। पहाडहरू नजिकिँदै थिए। बिहानको चिसो हावा गाडीको झ्यालबाट भित्र पसिरहेको थियो। यात्राको सुरुवातमै मनमा एउटा अनौठो आनन्द थियो।
सायद कामबाट बाहिर निस्कनुको आनन्द त्यही हो। केही समयका लागि आफ्नो नियमित जीवनलाई पछाडि छोड्नु।
बागलुङ बजार धेरैपटक पुगेको छु। तर बजारबाट पश्चिमतिर जाने अवसर भने दोस्रोपटक मात्र थियो। यसअघि मित्र तिलक खत्रीको विवाहमा गलकोटसम्म आएको सम्झना थियो।
गलकोट पुग्दा पुरानो यात्राको एउटा ठाउँ सम्झिएँ। पहिले चिया नास्ता गरेको ठाउँ। यसपटक पनि त्यहीँ रोकियौँ। चिया आयो। नास्ता आयो। गफ सुरू भयो।
यात्रामा यस्ता साना कुराहरूको पनि आफ्नै महत्व हुन्छ। घरमा खाएको चियाभन्दा बाटोमा खाएको चिया स्वादिलो लाग्छ। सायद चियाको स्वादभन्दा पनि साथ र परिवेशले त्यसलाई स्वादिलो बनाउँछ। गलकोटमै बिरामी भिनाजुको ढाडलाई सहज होस् भनेर एउटा सिरानी किनियो। यात्रामा बिरामी मान्छे साथमा भएपछि हाम्रो ध्यान पनि उहाँमै हुन्थ्यो। बाटोमा खाल्डाखुल्डी आयो भने गाडी बिस्तारै चलाउने, उहाँलाई असजिलो भयो कि भनेर सोध्ने। तर परिवारको यात्राको अर्को विशेषता पनि यही हो। गम्भीर कुरा पनि केहीबेरमा मजाक बन्छ।
बाटोमा खाल्डाखुल्डी आउँदा भिनाजुलाई गाह्रो हुन्थ्यो होला, हामीलाई भने हाँसोको विषय मिल्थ्यो। गलकोटबाट आवश्यक खानेकुरा किनेर फेरि अगाडि बढ्यौँ। करिब ११ बजे बुर्तिबाङ पुग्यौँ। खाना खाने चाँजोपाँजो सुजन भान्जाले मिलाएका थिए।
१२ बजे खाना खाएर फेरि गाडी अगाडि बढ्यो। अब बाटो अझ सुन्दर हुँदै थियो। उत्तरगंगाको किनारैकिनार बन्दै गरेको सडक थियो। ग्राभेल सडकमा गाडी सललल गुडिरहेको थियो। ग्राभेल सडक भए पनि राम्रो थियो। खोलाको पानी आफ्नो बाटोमा बगिरहेको थियो र हामी आफ्नो बाटोमा। कहिलेकाहीँ लाग्थ्यो। खोला पनि हामीसँगै यात्रा गरिरहेको नै थियो। विपरीत ध्रुबमा खोला र हामी दौड्मा थियौं। आफ्नै आफ्नो गन्तव्यमा।
तर यात्रा सधैँ आफूले चाहेजस्तो कहाँ हुन्छ र ! गन्तव्य भन्दा गाडिमा एक घण्टा अगाडि पुगेपछि राम्रो सडक सकियो। गाडीहरू अगाडि जान नसक्ने अवस्था आयो। हाम्रो गाडी पनि रोकियो। एक्छिन हनुमान जस्तै बल निकाल्यौ। गाडि अगाडि धकेल्न सकेनौ। घडीले दुई बजाइसकेको थियो। अब बुकीपाटन पुग्ने सम्भावना कम हुँदै गएको थियो। हामीले पैदलै हिँड्ने निर्णय गर्यौ। ढोरपाटन नै बास वस्ने योजना वनायौ।
थोरै अगाडि मात्र के हिँडेका थियौँ , परबाट एउटा जिप देखियो। जिप देखेपछि पैदल हिँड्ने को ?
जिप चढ्यौँ।
करिब ३ः३० बजे ढोरपाटन पुग्यौँ। देउरालीमा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट काट्यौँ। ठुला अक्षरमा ढोरपाटन र चौरीको मुर्ति वन्दै रहेछ। देउरालीबाट ओरालो लागेपछि अचानक अगाडि एउटा विशाल संसार खुल्यो। ३००० मिटर उचाईमा अबस्थित पाटन , ढोरपाटन।
पहाडको बीचमा फैलिएको फराकिलो पाटन। चारैतिर डाँडा। बीचमा हरियो मैदान। कतैकतै फूलका थुँगा। बुकिका फूलहरू।
-1786172456.jpg)
-1786172456.jpg)
त्यो दृश्य हेर्दा केहीबेर रोकिएर बस्न मन लाग्यो।
तर हाम्रो गन्तव्य ढोरपाटन थिएन। हामीलाई बुकीपाटन पुग्नु थियो। वाटैमा हामी ढोरपाटनबाट बुकीपाटनको योजना बुने सकेका थियौ।
होटलवालाले बुकीपाटन जाने समय भएको र जान सकिने बताएपछि फेरि यात्रा सुरु गर्यौँ। पुन प्रतिव्यक्ति १०० रुपैयाँको पास लियौँ। माथि बस्ने होटलका प्रतिनिधि पनि हामीसँगै बाटो देखाउँदै लागे।
अब गाडीको यात्रा सकियो। अब खुट्टाको यात्रा सुरू भयो। हामीलाई करिब पाँच , छ घण्टा हिँड्नुपर्ने थियो। एकातिर बिरामी भिनाजु। अर्कोतिर पहाडमा लामो पैदल यात्रा गर्ने बानी नभएको सन्दिप , बुहारी , भान्जा नया थिए। तर यात्रा सुरु भयो। बाटोमै चाउचाउ खोल्यौँ। खाँदै, हिँड्दै, गफ गर्दै अगाडि बढ्यौँ।
चारैतिर घुपीका रूखहरू थिए। रुखका हाँगामा हरियो लेउ लागेको थियो। तल खोला कलकल गर्दै बगिरहेको थियो। वरिपरि बस्ती थिएन। त्यहाँ प्रकृति बाहेक अरू केही थिएन।
न बजार। न ट्राफिक। न मानिसको भीड। न मोबाइलको नेटवर्कको भर। थियो त केवल पहाड, जंगल, खोला र हावा।
सहरमा हामी शान्ति खोज्छौँ। तर पहाडमा पुगेपछि थाहा हुन्छ। शान्ति भनेको मौनता मात्र होइन रहेछ। खोलाको कलकल पनि शान्ति रहेछ। हावाले पात हल्लाएको आवाज पनि संगीत रहेछ। टाढाको पहाडमा अड्किएको बादल पनि एउटा दृश्य रहेछ। साँझ पर्न थालेपछि हामीले हिँडाइ तीव्र बनायौँ। अँध्यारो भएपछि हिँड्न नदिने र बाटोमा सेनाको गस्ती भेटिए अप्ठ्यारो हुन सक्ने डरमा हामीलाई कुदाउँदै थिए। दुई घण्टा मजाले हिँड्यौँ। बिरामी भिनाजु पनि हिँडिरहनु भएको थियो सन्दिपलाई भने सुरूमै अप्ठ्यारो परेको थियो।
अब सेनाको गस्तीको डर त लगभग सकियो। तर पहिलोपटक पहाड चढेको मान्छेलाई गन्तव्यसम्म पुर्याउनु अर्को चुनौती बन्यो। कहिले हौस्याउने। कहिले रोक्ने। कहिले पानी खुवाउने। कहिले 'अब त नजिकै हो' भन्ने। नजिकै कति नजिक हो भन्ने हामीलाई पनि थाहा थिएन। तर यात्रामा कहिलेकाहीँ सत्यभन्दा हौसला महत्वपूर्ण हुन्छ। १५ मिनेट कति पल्ट आयो आयो। अन्ततः केही ढिलो भए पनि बुकीपाटन पुग्यौँ। त्यतिबेला रातको करिब ९ बजेको थियो।
एउटा टेन्टमुनि पुगेर बस्यौं। पोखरामा गर्मी थियो। यहाँ जाडो।
तातो पानी खायौँ। खाना तयार हुँदै थियो। त्यही दिन काटेको भेडाको भुटन खायौ। झोलसँग भात।
दिनभरको थकानपछि त्यो खाना स्वाद मात्र थिएन, उपलब्धि पनि थियो। खाना खाइसकेपछि शरीरले बिस्तारा खोज्यो।
तर बिस्तारामा पुगेपछि अर्को समस्या सुरू भयो। जाडो।
तल्लो र माथिल्लो दाँत किटिक्किटिक्क गर्दै थिए। सिरक मरिगए नतात्ने। कोही निदाए। कोही रातभरि निदाउन सकेनन्। भोलिपल्ट बिहानै टिकापाटन जाने योजना थियो। त्यसैले निद्राको प्रतीक्षा गर्दागर्दै रात बित्यो।
कुकुर भुक्दै थिए। बिहान पाँच बजे उठ्यौ। मिर्मिरे उज्यालो हुन थालेको थियो। बिस्तारै पहाडका आकृतिहरू देखिन थाले। अनि हिमालहरू खुल्न थाले। त्यो दृश्य केहीबेर चुप लागेर हेर्नुपर्ने खालको थियो। पहाडमा पनि मैदानजस्तै फराकिलो पाटन। ठूला रुख छैनन्। हिमालको सामीप्यमा फैलिएको घाँसे मैदान। कतैकतै साना फूलहरू। आखाले नभेट्ने सम्म पाटन। पुथा , गुर्जा हिमालहरू।
म अलि निरास भए। साँचो भन्नुपर्दा, म फूलैफूलमा हराउने अपेक्षाले आएको थिएँ। तर मेरो अपेक्षा र प्रकृतिको वास्तविकता केही फरक रहेछ। फूलमा म हराउँछु भन्ने सोचेको थिएँ, तर त्यहाँ त फूलहरू नै ममा हराएजस्तो लाग्यो। भेडाको मासु खाइयो, तर भेडीबथान भने भेटिएन। यद्यपि पहिलोपटक यसरी पहाड उक्लनेका लागि त्यहाँको सौन्दर्य आफैँमा पर्याप्त थियो। फोटो खिच्यौँ। भिडिओ बनायौँ। नास्ता गर्यौँ। अनि ओरालो झर्ने तयारी गर्यौँ। त्यहाँका व्यापारीसँग कुराकानी गर्दा निकुञ्ज र व्यवसायीबीचको असमझदारीको कुरा पनि सुनियो। बुकीपाटनमा रात्रि बसाइँ हटाउने कुरा भइरहेको रहेछ। प्रकृति संरक्षण आवश्यक छ। तर स्थानीय मानिसलाई साथमा नलिएर संरक्षण सम्भव हुँदैन। स्थानीयको जीवन, पर्यटन र प्रकृति संरक्षणलाई एउटै सूत्रमा जोड्न सक्नुपर्छ।
सिकार खेल्ने ठाउँहरू पनि टाढाबाट हेर्यौँ। यो क्षेत्र एकमात्र सिकार गर्न पाउने क्षेत्र हो। बुकीपाटनमा पर्यटनको ठूलो सम्भावना रहेछ भन्ने महसुस भयो। तर सम्भावना आफैँ विकास बन्दैन। योजना चाहिन्छ। व्यवस्थापन चाहिन्छ। स्थानीय सहभागिता चाहिन्छ। र सबैभन्दा बढी दीर्घकालीन सोच चाहिन्छ।
-1786172455.jpg)
-1786172455.jpg)
फेरि ओरालो लाग्यौँ। उही बाटो। उही थकान। तर अब ढोरपाटन फर्किने उत्साह थियो।सललररर तल झर्यौँ। फेरि ढोरपाटन आइपुग्यौँ।
ढोरपाटनमा खाना खायौँ। त्यसपछि बल्ल त्यो ठाउँमा पुग्यौँ, जहाँ सामाजिक सञ्जालमा देखिने फूलैफूलका बीच सुन्दरीहरूले खिचेका फोटो र भिडियोहरू देखेको थिए।
छेउमा रहेको उत्तरगंगा ढोरपाटन मन्दिरमा दर्शन गर्यौँ।
बडेमानको मैदानमा पुग्दा केही फूलहरू देखिए। तर मनमा प्रश्न उठ्यो फूल कता हराए? सामाजिक सञ्जालमा देखेको ढोरपाटन र आँखाले देखेको ढोरपाटनमा केही फरक थियो।
सायद मौसम सुरू हुँदै थियो वा सक्किएको थियो। सायद फूल फुलेको समय फरक थियो। सायद क्यामेराले वास्तविकतालाई अलि बढी सुन्दर बनाएको थियो। अलि बढी फूल भएको ठाउँ खोज्यौँ। मोबाइललाई जमिनतिर ढल्कायौँ। क्यामेराको कोण मिलायौँ। अनि फोटो खिचियो। घोडा चढेर फोटो खिचियो। सम्झना राखियो।
तर त्यसैबेला एउटा गम्भीर कुरा पनि मनमा आयो। यति ठूलो मैदान। यति ठूलो सम्भावना। तर हामीले यसको उपयोग कति गरेका छौँ? ढोरपाटनमा फूल हराइसकेका छन्। फुलको मैदान होईन घासे मैदान बनेको छ। फुल फेरि रोपौँ, प्रकृतिमाथि मात्र निर्भर हुनु हुँदैन। सयौँ रङका फूल रोपौँ। पानीका कुलाहरू व्यवस्थित बनाऔँ। चरन क्षेत्र व्यवस्थापन गरौँ। वन्यजन्तुको संरक्षण गरौँ।
स्थानीयलाई पर्यटनसँग जोडौँ। स्थानीय उत्पादनलाई बजारसँग जोडौँ। प्रकृतिलाई नबिगारी पूर्वाधार बनाऔँ। यति गर्न सके ढोरपाटन नेपालकै उत्कृष्ट प्राकृतिक पार्क र मैदान बन्न सक्छ।
भर्खरै पर्यटनमन्त्री बन्नुभएका माननीय गणेश पौडेललाई सम्झिएँ। यस्ता ठाउँहरूको उचित सदुपयोग गर्न सके पर्यटनमा ठूलो सम्भावना देखे। तर प्रश्न यही हो। सक्ने ठाउँमा छैनौँ कि गर्ने इच्छाशक्ति छैन? सुन्नेहरूले आवाज कहिले सुन्छन्?
किनकि यस्तै अवस्थामा छाडिरहने हो भने केही वर्षपछि ढोरपाटन ढोरपाटन नरहन सक्छ। यो खोलाको बगर बन्न सक्छ। पर्यटक होइन गिट्टी बालुका ट्याक्टर कुद्नेछन्। फूलहरू हराउन सक्किनेछन्। अनि मानिसहरू सुन्दर ढोरपाटन हेर्न होइन, कुनै समय यहाँ यस्तो थियो भनेर सुन्न मात्र आउनेछन्।
त्यो दिन आउन नदिन आजै सोच्नुपर्ने छ।
यति राम्रो ठाउँ हुँदाहुँदै पनि यसपालि ढोरपाटनले भ्रमणको सन्तुष्ट दिन सकेन।
ढोरपाटनले तीन दिनलाई भनेरहिडेको यात्रा, दुई दिनमै फर्काइदियो।
ढोरपाटनबाट बेनी निस्कने बाटो छोटो हुने जानकारी पायौं।
तर हामी नयाँ थियौं। अपरिचित बाटो। समय पनि ढल्किँदै थियो। त्यसैले फेरि हिजोकै बाटो फर्किने निर्णय गर्यौं।
-1786172454.jpg)
-1786172454.jpg)
-1786172454.jpg)
-1786172456.jpg)
-1786172455.jpg)