संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि बन्द गरेको भिजिट भिसा खुला गरेको छ।
जेनजी आन्दोलनयता युएईले नेपालीहरूलाई भिजिट अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको थियो।
भिसा किन रोकिएको हो भन्ने बारे भने औपचारिक रूपमा केही कारण खुलाएको थिएन। तर गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी युएई जान सक्ने भनेर पनि रोकिएको उल्लेख गरिएको थियो।
आन्दोलनपछि युएईले कामदार भिसामा समेत कडाई गरेको थियो। कामदारका लागि नयाँ भिसा जारी समेत रोकेको थियो।
भिसा लागिसकेकाहरूलाई समेत पुलिस रिपोर्ट मागेको म्यानपावर व्यवसायीहरूले बताएका थिए।
युएईमा ठूलो संख्यामा नेपालीहरू भिजिट भिसामा जाने गरेका छन्। यो मुलुक ट्रान्जिट बनाएर अन्य मुलुक जाने नेपालीहरूको संख्या ठूलो छ।
रोजगारीका लागि पनि युएई आकर्षक गन्तव्य मुलुक हो। यो मुलुकमा निर्माण, सेवा लगायत विभिन्न क्षेत्रमा ठूलो संख्यामा नेपाली श्रमिकहरू जाने गरेका छन्। हाल त्यहाँ पाँच लाखभन्दा धेरै नेपाली श्रमिकहरू कार्यरत रहेको अनुमान छ।