नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे।
उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी) को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए।
'बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ,' डाक्टर नेपालले भने, 'बंगलादेशको बैंकबाट डिजिटल माध्यमबाट पैसा निकाले घटना होस् वा अन्य किसिमका गतिविधि, चूनौतीपूर्ण बनिरहेको छ।'
कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना खाँचो रहेको पनि उनले औंल्याए। आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीलाई कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ थियो।