नेपाल धितोपत्र बोर्डले तोकिएको जति प्रतिसेयर नेटवर्थ नपुगेको भन्दै प्राथमिक सेयर निष्कासन आइपिओ आवेदन प्रक्रियाबाट कान्तिपुर टेलिभिजन नेटवर्कलाई समेत हटाएको छ।
प्रतिसेयर नेटवर्थ ९० रूपैयाँभन्दा कम भएका १४ कम्पनीलाई धितोपत्र बोर्डले आवेदन दिनेको सूचीबाटै हटाएको हो।
सेयर निष्कासन प्रक्रिया चाँडो गरिदिने भन्दै बोर्ड अध्यक्ष निकट व्यक्तिहरूले ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) को कार्यसमिति सदस्यहरूले लगाएपछि बोर्डले यस्तो कदम चालेको हो।
नेटवर्थ पुगेपछि मात्रै सेयर निष्कासन प्रक्रियामा आउन पनि धितोपत्र बोर्डले कम्पनीहरूलाई भनेको छ।
कान्तिपुर टेलिभिजनले सात करोड ५० लाख रूपैयाँ बराबरको सेयर निष्कासन अनुमति माग्दै आवेदन दिएको थियो।
इक्रा नेपालले २०८१ भदौ १९ मा गरेको पछिल्लो रेटिङमा कम्पनीको स्तर घटाएको थियो। त्यसअघि बी प्लस पाएको कान्तिपुर टेलिभिजनले सो समय बी रेटिङ पाएको थियो।
कम्पनीको वार्षिक आम्दानी पनि घट्दो क्रममा देखिएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा ३७ करोड ८० लाख रूपैयाँ आम्दानी गरेको कम्पनीले २०७९/८० मा २७ करोड ७० लाख रूपैयाँ मात्रै कमाएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा २३ करोड ६० लाख आम्दानी गरेको थियो। पछिल्लो दुई वर्षमा यस्तो आम्दानी क्रमशः २७ र १५ प्रतिशतले घटेको हो।
आर्थिक शिथिलताको कारण कम्पनीको विज्ञापनबाट हुने आम्दानी पनि प्रभावित भएको रेटिङ कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले पाउने विज्ञापनमध्ये तीन ग्राहक (एड एग्रिगेटर कस्टमर)बाट आउने विज्ञापन मात्रै ७५ प्रतिशत बराबर रहेको छ।
११ सेयरधनी रहेको कम्पनीमा प्रबन्ध निर्देशक कैलाश सिरोहियाको २९ प्रतिशत सेयर स्वामित्व छ।