नेपाल बोर्डकास्टिङ च्यानल लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ।
आवेदन प्रक्रियामा रहेकाहरूको काँटछाँट गरेपछिको सूचीमा यो कम्पनी अटाएको छ। कम्पनीको न्युज २४ च्यानल सञ्चालनमा छ।
केही दिअघि मात्रै प्रतिसेयर नेटवर्थ ९० रूपैयाँभन्दा कम भएका १४ कम्पनीलाई धितोपत्र बोर्डले आवेदन दिनेको सूचीबाटै हटाएको थियो।
कान्तिपुर टेलिभिजन समेत यो सूचीबाट हटेको थियो। न्युज २४ भने यो सूचीमा अटाएको छ।
गत महिना भएको पुनर्मूल्यांकनमा कम्पनीले पहिले पाएकै रेटिङ संकेत यसपालि पनि पाएको इन्फोमेरिक्स क्रेडिट रेटिङले उल्लेख गरेको छ।
कम्पनीले दुई वर्षदेखि बिबी माइनस रेटिङ पाएको छ। वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको यसले संकेत गर्छ।
कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी यो आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मा तीन करोड ८० लाख रूपैयाँ छ। गत आर्थिक वर्षभरीमा कम्पनीले ११ करोड ४० लाख कमाएको थियो।
त्यसअघि कम्पनीको वार्षिक आम्दानी १० करोड २० लाख रूपैयाँ कमाएको थियो।
कम्पनीको आम्दानी औसत १६ प्रतिशतको दरमा बढेको देखिए पनि पाँच वर्षयताको समष्टिगत वार्षिक वृद्धिदर भने नकारात्मक छ।
कम्पनीको ब्याज, कर, ह्रासकट्टी अघिको नाफा भने गत वर्ष ३५ प्रतिशतबाट बढेर ३९ प्रतिशत पुगेको छ।
कम्पनीले पाउनु पर्ने भुक्तानी लिन तीन सय ७३ दिनसम्म लाग्न थालेकोले कम्पनीको कार्यगत पुँजी (चल्न चहिने पुँजी वर्किङ क्यापिटल) मा दबाब पर्न थालेको रेटिङ कम्पनीले उललेख गरेको छ।
कम्पनीले परम्परागत प्रविधिबाट स्तोरोन्नति गरेर नयाँ प्रविधि आत्मसात गर्न थालिरहेको समेत बताइएको छ।
कम्पनीमा अध्यक्ष अनिल जोशीको ५० प्रतिशत सेयर स्वामित्व छ। बाँकी अन्य धेरै व्यक्तिगत लगानीकर्ताहरूको सेयर लगानी छ।