लगातार तेस्रो दिन घटेर नेप्से यस साताको अन्तिम कारोबार दिन २७३८ मा बन्द भयो।
तीन दिनमा नेप्सेले करिब ५८ अंक गुमाएको छ।
बिहीबार २७४० बाट कारोबार सुरू भएर २७०८ विन्दुसम्म पुगेपछि मात्रै नेप्सेको ओरालो यात्रा रोकियो।
त्यसपछि केही घटबढ सहित सुधारको प्रयासमा रहेको नेप्से बजार बन्द हुँदा भने ५.७३ अंकले घट्यो।
नेपाल स्टक एक्सचेन्जले कारोबार नियममा गरेको कडाइले बिहीबार सुरूमा बजार घटाउन केही भूमिका खेलेको थियो।
स्टक एक्सचेन्जले कारोबारको लागि ब्रोकर खातामा २५ प्रतिशतबराबर रकम अग्रिम रूपमा राख्नै पर्ने व्यवस्था गरेको छ।
त्यस्तै, लगानीकर्ता झुक्याउने गरेर पटक पटक ठूलो खरिददारी वा बिक्री देखाउने र कारोबार हुने बेला त्यस्तो आदेश सच्चाइ हाल्ने प्रवृत्तिलाई रोक्न समेत भनेको छ।
ब्रोकरको खातामा अग्रिम पैसा नराख्दा पनि यसरी पटक पटक ठूलो माग वा बिक्री देखाउँन सजिलो भएपनि कडाई गरिएको हो।
२५ प्रतिशत रकम अग्रिम बुझाउँनै पर्ने यो व्यवस्थाले सुरूमा बजार घटेपनि मध्यदिन पछि लगानीकर्ता सम्हालिदा बजार पनि सुधारको प्रयासमा देखियो।
प्राविधिक विश्लेषणबाट हेर्दा बजारले २७ सय विन्दुमा मनोवैज्ञानिक टेवा समेत पाएको देखिन्छ।
सय जस्ता शून्य अंकहरूलाई बजारमा मनोवैज्ञानिक टेवा विन्दु भनिन्छ।
बिहीबार बजारमा कारोबारमा आएका बैंकिङ र उत्पादनमूलक बाहेक सबै समूहगत परिसूचक घटेका छन्।
यी दुई समूहगत परिसूचकमा पनि एक प्रतिशतभन्दा कमको सुधार देखिएको छ।
कारोबारमा आएका ३४६ लगानी उपकरणमध्ये १२४ को मूल्य बढ्यो, २०२ वटाको मूल्य घटेको छ।
बजारको प्रवृत्ति स्पष्ट नहुँदा कारोबार रकम थप घटेको छ।
बुधबार चार अर्ब ९८ करोडको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएको हो।
श्रीनगर एग्रिटेकको सेयर मूल्य यसदिन सबैभन्दा धेरै १२ प्रतिशतले बढेको छ।
यसको एक हजार दुई सय ६२ रूपैयाँमा अन्तिम कारोबार भएको हो।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर २४ सय रूपैयाँमा अन्तिम कारोबार भएको छ।
रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २६ करोड रूपैयाँको सेयर कारोबार भएको छ।