लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) सँग बैंकिङ अन वुमन (बिओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लुएमएसएमई सेक्स डिसएग्रिगेटेड डेटा (एसडिडी) सहकार्य सम्झौता गरेको छ।
उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल वुमन इन्टरप्रेनर्स फाइनान्स इनिसिएटिभ (वी–फाइ) ले सहयोग गरिरहेको छ।
वी–फाइ विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लुएमएसएमई) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो।
यसअन्तर्गत सञ्चालन हुने वुमन इन्टरप्रेनर्स फाइनान्स कोड (द वी–फाइनान्स कोड) वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो।
जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राख्छ।
यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप–अपस्ट्रिम एन्ड एडभाइजरी) मेहदी चेरकाउईले हस्ताक्षर गरे।
यस सहकार्यअन्तर्गत आइएफसीले बैंकलाई लैंगिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसएग्रिगेटेड डेटा–एसडिडी) को संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ।
यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरू (डब्लुएसएमई) का आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ।
यसका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधानहरू विकास गर्न सक्नेछ।
यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने अपेक्षा राखेको छ।