सरकारले आज(सोमबार)बाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरू गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो।
कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्।
५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाखभन्दा बढी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेर रकम फिर्ता गर्न थालिएको हो।
पहिलो चरणमा साना बचतकर्ताहरूको रकम फिर्ता भइरहेको छ।
समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट ऋण उठाउने काम पनि भइरहेको छ। हालसम्म २ करोडभन्दा बढी ऋण फिर्ता भएको छ।
समितिले केही दिन अघि समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गरेको थियो।
समितिले ऋण उठाउन सम्पर्कमा नआउने वा कर्जा नतिर्ने ऋणी तथा सञ्चालकको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने र आवश्यक परे कैद तथा जरिवाना गर्ने समेत बताउदै आएको छ।
त्यस्तै, कर्जा सावाँ, ब्याज र हर्जाना रकम समयमै नतिरे विद्युत, धारा सिफारिस लगायतका सार्वजनिक सेवा अवरुद्ध गर्ने समेत चेतावनी दिइएको छ।