नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनाबाट संक्षिप्त सूची तयार भएको छ।
संक्षिप्त सूचीमा रहेका चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट छन्।
अध्यक्ष छनोट समितिले उनीहरूलाई जेठ ८ गते कार्ययोजना प्रस्तुत गर्न छलफलमा बोलाएको छ।
बोर्डको अध्यक्षका लागि संक्षिप्त छनोटमा परेका डा. नवराज अधिकारी केही समयअघि अवकाश पाएका कार्यकारी निर्देशक हुन्।
त्यस्तै, विनयदेव आचार्य हाल बोर्डमा कार्यकारी निर्देशक छन् भने मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
क्षत्री करिब २ वर्ष धितोपत्र बोर्डमा कार्यकारी निर्देशक भइसकेका छन्। भट्टले सेयर बजारका विषयमा नै शोध गरेका थिए।
४७ जनामध्ये उत्कृष्ट मानिएकाहरूलाई छनोट गरिएको र उनीहरूबाट उचित कार्ययोजना प्रस्तुत नभए थप नामहरूमा पनि छलफल हुन सक्ने छनोट समितिका एक सदस्यले भने।
समितिले नाम टुंगो लगाएपछि कम्तीमा तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरिनेछ।
सिफारिसमा परेका तीन जनामध्येबाट सरकारले एक जनालाई कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ। नियुक्त अध्यक्षको कार्यकाल चार वर्ष रहने व्यवस्था छ।
वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएपछि उक्त पद खाली छ।
