सात वर्षअघि निर्माण सुरू भएको नेपालकै पहिलो आधुनिक सुरूङ मार्ग 'नागढुंगा-सिस्ने खोला सुरूङ मार्ग' सोमबार उद्घाटन भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौंको दहचोकदेखि धादिङको सिस्नेखोला जोडिने यो सुरूङ मार्ग उद्घाटन गरेका हुन्।
काठमाडौंस्थित जापानी राजदूत मायदा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा उक्त सुरूङ मार्ग उद्घाटन भएको हो।
सुरूङमार्ग सात वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
२०८१ वैशाख ३ गते पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा सुरूङ मार्गको ब्रेकथ्रु भएको थियो।
सुरूङ मार्गको लम्बाइ २,६८८ मिटर छ।
यो आयोजना निर्माण अप्रिल २०२३ भित्र सक्ने गरी सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो। तर कोभिड महामारी, विभिन्न प्राविधिक समस्या, स्थानीयको अवरोध लगायत कारण निर्माणमा ढिलाइ हुँदा सोमबारदेखि सञ्चालन आएको छ।
पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइनेछ।
केही दिन सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापन परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरूङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन।
सुरूङ मार्ग सञ्चालनका लागि चिनियाँ संलग्न जोइन्टभेन्चर कम्पनी युक्सिन–एआरटीले जिम्मा पाएको छ।
सोमबारदेखि सञ्चालनमा आउन लागेको सुरूङ मार्गबारे तपाईंले जानुपर्ने ७ विषय यस्ता छन् —
१. प्रवेश निषेध
यस सुरूङ मार्गमा पैदलयात्रीहरूलाई जान निषेध गरिएको छ।
आयोजनाका अनुसार मोटरसाइकल, स्कुटर, तीनपांग्रे सवारी साधनलाई पनि निषेध गरिएको छ।
सुरूङ मार्गभित्र पेट्रोलियम पदार्थ लगायत प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोक्ने गाडीहरूलाई पनि निषेध गरिएको छ।
२. जान पाइने
यहाँ नियमित रूपमा कार, भ्यान, मिनिबस, ट्रक जान पाउने छन्।
यी सवारी साधनले सुरूङ मार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्नेछ।
३. शुल्क कति?
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्ने तोकिएको छ।
त्यस्तै, मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रूपैयाँ, बाहिरिँदा ८० रूपैयाँ तथा बस, ट्रक (सिंगल रियर एक्सल) लाई प्रति सवारी साधन प्रवेश गर्दा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक/सवारी साधन तथा भारी उपकरणका हकमा प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ तोकिएको छ।
नियमित सञ्चालनपछि कार/भ्यान, मिनीबस, ट्रक र बसका लागि छुट्टाछुट्टै शुल्क लाग्नेछ।
४. करिब ३ किलोमिटर घट्ने
यो सुरूङमार्गले करिब ३ किलोमिटर दुरी कम गर्ने छ।
यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङको सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दुरी ८ किलोमिटर छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दुरी ५ किलोमिटर हुन्छ।
सिस्नेखोला–बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किलोमिटर दुरी घटाउन लागिएको हो।
५. पेट्रोलियम पदार्थ र समयको बचत
दुरीका हिसाबले सुरूङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङ मार्गको प्रयोगबाट पेट्रोलियम पदार्थको खपत ठूलो परिमाणमा बचत हुने अपेक्षा छ।
सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ। सुरूङ मार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास गरिएको छ। सुरूङ मार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ।
६. सुरूङ मार्गमा सुरक्षा
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुईवटा सुरूङ छन्। रेस्क्यु सुरूङको लम्बाइ २,५५७ मिटर छ। मुख्य सुरूङको दुवैतर्फ सवारी साधन हुन्छन्। दुर्घटना भइहाल्यो भने तुरून्तै उद्धार गरिन्छ।
उद्धार सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। उद्धार सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकलजस्ता साधन आवतजावत गर्न सक्छन्।
आयोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरूङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामरा, सञ्चार र सुरक्षा संयन्त्र उपलब्ध छन्।
त्यस्तै, अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ।
७. बजेट
सुरूङ मार्ग निर्माणमा जापान सरकारको झन्डै २२ अर्ब रूपैयाँ बराबर सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रूपैयाँ बराबरको लगानी छ।