गृहमन्त्री सुधन गुरूङ गोरखा-१ का जलविद्युत व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन्।
आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
ऊर्जामन्त्री श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणको टोलीले उनीहरूको समस्या सुनेको उल्लेख गरेको छ।
व्यवसायीहरूले उत्पादनको तयारीमा रहेको भन्दै प्रसारण लाइनको विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उठाएका थिए।
मन्त्री गुरूङले गोरखा जिल्लाका नदीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको निर्माणका क्रममा आइपरेका समस्या समाधानका लागि सहजीकरण गर्न ऊर्जामन्त्री श्रेष्ठ र विद्युत प्राधिकरणलाई अनुरोध गरे।

मन्त्री गुरूङले जलविद्युत व्यवसायीलाई पनि सिएसआरमा पारदर्शिता हुनुपर्ने, राजनीति नगरी व्यवसाय मात्र गर्नुपर्ने र जलविद्युत आयोजनाबाट त्यहाँका जनताले सुविधा पाउनुपर्ने बताए।
उनले सरकारबाट पूर्ण सहजीकरण हुने र प्राधिकरणले बाधाहरू फुकाउने भन्दै राजनीति नगरी काम गर्न जलविद्युत व्यवसायीलाई भनेका थिए।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
उनले सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन पनि दिए।
गोरखामा बुढीगण्डकीसहित १० भन्दा बढी जलविद्युत आयोजना निर्माण भइरहेका छन्।
विद्युत प्राधिकरणका कामु निर्देशक दीर्घायु श्रेष्ठले पनि जलविद्युत आयोजना निर्माणमा देखिएका समस्या सम्बोधनका लागि पहल भइरहेको र प्रसारण लाइनको समस्याका लागि स्रोत जुटाउन गृहकार्य भइरहेको जानकारी गराए।